| सोमवार, कार्तिक २३, २०८३

दुर्गममा बैकल्पिक सेवाहरु सञ्चालनको खाँचो

सुगम यसै सुगम हुन्छ । यहाँ सेवा, सुविधाका धेरै विकल्पहरु हुन्छन् । सरकारी क्षेत्रले मात्र नपुगेर अझै छिटो, अझै गुणस्तरीयतामा प्रतिष्पर्धा गर्दै निजी क्षेत्रहरु पनि जुटिरहेका, जागिरहेका हुन्छन् । तर ती निजी कम्पनी दुर्गममा जाँदैनन् ।

दुर्गममा सञ्चार सेवाका लागि नेपाल टेलिकम मात्र छ । इन्टरनेट सेवाका लागि भने निजी कम्पनीहरु पनि गएका छन् ।
नेपाल टेलिकमको सेवा मात्र रहेको दुर्गममा निजी कम्पनीका मोबाइलबाहक पुगे भने धोका पाउँछन् । केहीदिनअघि एनसेलको मोबाइलबाहक एक पर्यटक टोली ल्हो गाउँमा बिहान छ बजदेखि साँझ छ बजेसम्म सम्पर्कबिहिन बने । यात्रा तनाबमय बन्यो ।

धार्चेमा पनि अबस्था यही हो, यहाँ नेपाल टेलिकमबाहेकको सेवा सञ्चालनमा छैन । एनटिसीको उहियामा रहेको टावरले सञ्चालन गरेको इन्टरनेट सेवा बिगत एकसातादेखि अबरुद्ध भएको छ । इन्टरनेट सेवा अबरुद्ध भएपछि धार्चे गाउँपालिकाले सम्पादन गर्ने काम नराम्ररी प्रभावित भएको छ ।

यसअघि आर्थिक बर्षको अन्त्यमा पनि इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपालिकाले आफ्नो माछाखोलास्थित कार्यालय नै स्थानान्तरण गरी धादिङको विशालनगरमा सञ्चालन गरेको थियो । ब्यस्त कामका बेला नचल्ने सेवासित प्रतिस्पर्धा गर्ने अर्को कम्पनी पनि छैन । जति धोका दिए पनि ग्राहक(उपभोक्ता)हरुलाई बिकल्प छैन ।

‘सरकारी काम कहिले जाला घाम’ शैलिमा काम गर्ने सरकारी निकाय तत्काल मर्मत सम्भारका लागि नजाँदा उहियामा रहेको इन्टरनेटको उपकरण कहिले बन्ने भन्नेमा अन्यौलता छ । एकलौटी हुँदा जहाँ पनि जेमा पनि मनोपोली हुन्छ । प्रतिस्पर्धी जन्म्यो भने बलैकरै पनि प्रतिस्पर्धामै जान कर लाग्छ । त्यसैले दुर्गममा फोन सेवा होस् वा इन्टरनेट सेवा होओस्, वा अन्य विभिन्न सेवा नै किन नहोओस्, बैकल्पिक अन्य कम्पनीले पनि प्रतिस्पर्धा गरेमा सेवा प्रभावकारी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्