| सोमवार, कार्तिक २३, २०८३

रगत छाद्ने सिर्दिबासका सुनिपाललाई यथासीघ्र उपचारको खाँचो

पटकैपिच्छे मानाका माना रगत वान्ता गर्ने चुमनुब्री गाउँपालिका ३ देवलका सुनिपाल गुरुङ अहिले सिकिस्त छन् । २५ दिनदेखि उनी रगत वान्ता गर्दै कमजोर बन्दै गएका छन् ।

छ बर्षअघि क्षयरोगबाट पिडित भएका उनलाई एकबर्षअघि पनि यस्तै समस्याले गाँजेको थियो । तर त्यतिबेला पाँच, छ दिनपछि बिसेक भएको थियो । अहिले भने २५ दिनभइसक्दा पनि दिनहुँ रगत बान्ता गरिरहेका छन् ।

उनी रहेको साबिक सिर्दिबास गाविसको हेल्थपोष्टले यति जटिल प्रकृतिको बिरामीको उपचार गर्न सक्दैन । उनलाई यसअघि नै उपचारका लागि सहर लैजान रेफर गरिसकिएको थियो । यद्यपि खर्च अभावमा उनी घरमै बस्न बाध्य छन् ।
उनका दुई नाबालक छोरा र एक नाबालिका छोरी छन् ।

परिबार पाल्न घन ठोकेर ज्याला मजदुरी गर्दै आएका उनलाई कडा परिश्रमले पनि असर गरेको हुनसक्छ । क्षयरोगले फोक्सो खराब गरेकाले पनि यस्तो भएको हुनसक्छ । अथवा चिकित्सा विज्ञानले उनको ब्यथा पत्ता लगाउन सक्छ । तसर्थ उनलाई छिटोभन्दा छिटो उपचारका लागि अस्पताल पु¥याउन जरुरी छ ।

पछिल्ला दिनहरुमा युवाहरु जघन्य बिरामी तथा घाइतेको उपचार गर्न खटिने गरेको पाइन्छ । विभिन्न सामाजिक सञ्जालहरुको सञ्चालन गरी मुटुरोगी, मृगौला रोगी, क्यान्सर पिडित, घाइते तथा अन्य बिरामीको उपचारका लागि खटिने गरेको पाइन्छ ।

यिनी दुर्गमका बिरामीको ज्यान बचाउनका लागि पनि त्यस्ता युवा समूह परिचालन भएर अर्थ संकलन गरी उपचारको व्यवस्था गर्न सके एक निरुपाय रोगीको जीवन बच्ने थियो ।

उनलाई तीनदिनको बाटो बोकाएर अस्पताल ल्याउनु पर्ने अबस्था छ भने राजधानीको कुनै अस्पतालमा उपचार गराई स्वास्थ्य सुधार गर्नुपर्ने खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्