| सोमवार, कार्तिक २३, २०८३

मालपोतमा सेवाग्राही ठगिने कहिलेसम्म ?

‘सेवाग्राही हाम्रा दास हुन्’, भन्ने सोचाइ अहिले प्राय हट्दै गएको देखिन्छ । सेवाग्राहीलाई जतिसक्दो वशमा राखेर हप्काइदप्काइ गर्ने परम्परा अन्त्यप्रायः भएको छ । यदि कतै यस्तो व्यवहार पाइएमा सचेत सेवाग्राहीले प्रतिवाद पनि गर्न थालेका छन् । शासन ब्यबस्था फेरिएपिच्छे प्राय कार्यालयहरु लोकतान्त्रिकरण हुने क्रम बढिरहेको छ । अर्थात सेवाग्राहीलाई आदरभावका साथ सेवा दिने संस्कार कतिपय कार्यालयमा बढिरहेको छ ।

नयाँ पुस्ताका युवा कर्मचारीहरु बढिभन्दा बढि बिनित, बढिभन्दा बढि लोकतान्त्रिक हुने परिपाटी पनि देखिन्छ ।
अझै कतिपय कार्यालयम ‘सेवाग्राही हाम्रा भगवान हुन्’, भनेर लेखिएको पनि हुन्छ । जुन कार्यालय प्रमुख अतिरिक्त रचनात्मक सोचाइका हुन्छन्, उनीहरुले रचनात्मक ढंगले सेवाग्राहीको सेवा गर्ने गरेको पाइन्छ ।

यो अबस्थामा पनि मालपोत कार्यालयको सेवा भने अपेक्षित सुधारिएको पाइएको छैन । सबैभन्दा धेरै सेवाग्राहीको भीड लाग्ने मालपोत न संघीय अवधारणा अनुसार पालिकाहरुमा जान सकेको छ, न दूरदराजबाट आएका सेवाग्राहीलाई खुशी पारेर काम गर्न सफल देखिन्छ ।

असीमित सेवाग्राहीको भीड र सीमित जनशक्ति हुने हुँदा यहाँका कर्मचारी बिहानदेखि नै तनावपूर्ण देखिन्छन् । पुराना पुस्ता र समकक्षीहरुबाट ‘घुस’को स्कुलिङले नयाँ पुस्ताका कर्मचारी पनि अभ्यस्त बन्दै गएको देखिन्छ । कतिपय घटनाले कतिपय कर्मचारीमा काम नगरेबापत तलब र काम गरेबापत ‘घुस’ लिने गरेको देखाउँछ ।

त्यसमाथि पनि यहाँ भिड्न आउने लेखापढी व्यवसायीका कारण पनि सेवा अस्तब्यस्त बन्ने गरेको छ । कर्मचारीलाई सेटिङ मिलाउनुपर्छ भन्ने बहानामा लेखापढी ब्यबसायीले सिदासादा सेवाग्राहीलाई निर्मम ठगेको घटना नौलो छैन । कागज छुने वित्तिकै हजारदेखि सुरु भएको बार्गेनिङको कुनै सीमा हुदैन । वर्तमान अबस्थामा पनि सदरमुकामकै कार्यालयमा दिनदहाडै बाध्य पारेर सेवाग्राहीलाई दुहुने यो संस्कार कहिले अन्त्य हुन्छ ?

प्रतिक्रिया दिनुहोस्