सुन्य प्रतिशत प्रगति : कार्यालय प्रमुखको कार्यक्षमतामा प्रश्न
समीक्षा काम गरिरहँदा हुँदैन । काम गरिरहँदाको समिक्षा अपूर्ण र काँचो हुन्छ । यहाँ एउटा समीक्षाको सम्झना गर्नुपर्ने हुन्छ : २०७२ सालको भूकम्पपछिको उद्धार तथा राहत व्यवस्थापनमा गोरखा जिल्ला देशभर सँधै अग्रस्थानमा रह्यो । राहत, उद्धार, पुनर्निर्माण र पुनस्थापनाको काम यसरी गर्नुपर्छ भनेर गोरखाले अनुकरणीय अभ्यास देखाइरहेको थियो ।
त्यतिबेलाको समूह कार्य र नेतृत्वको कौशलताका कारण भूकम्प व्यवस्थापन अब्बल भएको हो । भूकम्पपछिको नेपालको अबस्था हैटी जस्तो बनाउने कि इण्डोनेशिया जस्तो बनाउने ? भन्ने चुनौति त्यतिबेला थियो । त्यसैले त्यतिबेलाको टिम बिहान साँढे ५, छ बजेदेखि राती नौ, दस बजेसम्म निरन्तर खट्थ्यो । खटाइ कसैको करले वा कसैलाई देखाउनका लागि नभै स्वस्फूर्त जस्तो देखिन्थ्यो ।
खट्दै गर्दा त्यतिबेलाका जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष प्रजिअ उद्धव तिमल्सेनाले भारतीय लेखक शिव खेराको उद्धरण उद्धृत गर्दै भनेका थिए, ‘जित्नेले छुट्टै काम होइन, हरेक काम छुट्टै ढंगले गर्छन् ।’
तत्कालीन डिएसपी वसन्त कुँबरले पुलिसिङ कस्तो हुनुपर्छ भनेर गोरखा, चितवन, नुवाँकोटमा चखाएर गएको पनि धेरै बर्षअघि होइन ।
तर पछिल्लो समय गोरखाका सार्वजनिक सेवा हेर्दा कर्तव्य निर्वाहबाहेक उल्लेखनीय काम भएको देखिँदैन । कोभिड १९को व्यवस्थापनमा गोरखाले त्यस्तो प्रस्तुति गर्न सकेन ।
मंगलबार प्रदेशका अर्थमन्त्री आउँदा प्रस्तुत भएका प्रथम चौमासिक प्रगति प्रतिवेदन सुन्दा, हेर्दा अझै दुखद अबस्था देखियो । विशेषगरी स्वास्थ्य कार्यालय प्रमुख विद्या तामाङको प्रस्तुति दयनीय(पुँजीगततर्फ सुन्यप्रतिशत प्रगति) लाग्यो ।
घरेलु तथा साना उद्योग विकास कार्यालय, आयुर्वेद कार्यालयको अबस्था उस्तै देखियो । अन्य कार्यालयको अबस्था पनि एक प्रतिशत, दुई, वा तीन प्रतिशत प्रगति गरेको देखियो । यसले सम्बन्धित कार्यालयका प्रमुखको कार्य क्षमतामा प्रश्न चिन्ह खडा गर्छ ।




