कर्मकाण्डी कार्यक्रमले लक्ष्य हाँसिल गर्न सक्दैन
भर्खरै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । यो अवधिमा सरकारी, गैरसरकारी संस्थाका तर्फबाट दिनहूँ सयौँ ठाउँमा महिला हिंसाविरुद्धका चेतना जगाउने खालका कार्यक्रमहरु भए ।
फाट्टफुट्ट गाउँमा र धेरैजसो सहरका होटलहरुमा कार्यक्रमहरु सम्पन्न भए । कोरोना कालभरि नचलेका होटलहरुमा यस्ता खालका कार्यक्रमले धेरथोर भनेपनि राहत प्रदान ग¥यो । लामो समयदेखि सार्वजनिक सभा, गोष्ठी, समारोहमा जान नपाएर न्यास्रिएकाहरुलाई पनि राहत भयो ।
१६ दिने यो अवधिमा लक्षित कार्यक्रमहरु सम्पन्न भए वित्तीय प्रगति दर राम्रै भएको हुनसक्छ तर फलदायीका दृष्टिले कति सफल भए विश्लेषण गर्नु जरुरी छ ।
सहरमा यसै शिक्षित छन् । एक शिक्षितले अर्का शिक्षितको भाषण सुनेर महिला हिंसाविरुद्ध सचेत हुनु त्यति आवश्यक छैन, जति दूर दराजका ग्रामीण भेगका महिलाहरुले सुन्नु जरुरी थियो । सहरिया रहनसहनमा भन्दा ग्रामीण परिवेशमा पुरातनवादी सोच र पुरातनवादी ब्यबहार जकडिएर रहेको हुन्छ ।
त्यसैले सहरिया खान्दानका महिलाका लागि भन्दा मेलापात, गोबर घस्यौटा गरेर जीवन बिताएकाहरुलाई लक्षित गरी यस्ता कार्यक्रम तय गरेको भए उद्देश्य प्राप्तिका लागि फलदायी हुने थियो । तर कार्यक्रम भए सहरका चिल्ला सडकमा, सहरका ठूला होटलहरुमा, सहरका उच्च कुलीन, सम्भ्रान्त खान्दानका महिलाहरुका बीच, सहरका सचेत, शिक्षित, सभ्य महिला(पुरुषहरुका बीच ।
एउटा अभियन्ताको भाषण अर्का अभियन्ताले सुनेर लाभ छैन । सुन्न आवश्यक त गाउँठाउँका महिला पुरुषले थियो ।
कार्यक्रम तय गर्दा कार्यक्रम सकुशल सम्पन्न गर्ने कर्मकाण्डी सोँच मात्र राखेर गर्नुहुदैन, त्यसको प्रभाव लक्षित समुदायमा कत्तिको पर्छ भन्ने पनि आँकलन गर्नुपर्छ । अन्यथा कर्मकाण्डी कार्यक्रम मात्र गरेर लक्ष्य हाँसिल गर्न सकिँदैन । दशकौँदेखि गरिएका यस्ता कार्यक्रम कति उपलब्धीमुलक भए भन्ने पनि विस्लेषण गर्नु जरुरी छ ।




