वन नेपालको धन कसरी
बारीमा धान लगाइएको छ, मिति पुगेपछि किसानले तिथिमिति जुराएर कसैसँग सरोकार नराखी धान भित्र्याउँछन् । बारीमा सुन्तला लगाएका छन्, तिथिमिति जुराएर कसैसँग सोधपुछ नगरी किसान भित्र्याउँछन् । माछा पालन गरेका छन्, मौका मिलाएर किसानले माछा झिक्छन् । खसी, कुखुरा पालेका छन् भने पनि आफ्नो मेसो मिलाएर कसैको अनुमति बिना तजबीजले बेचबिखन गर्छन् ।
तर किसानले बारीमा उमारेको चिलाउने, साल, सिसौ, सल्ला लगाएका छन् भने आफुखुशी प्रयोग गर्न पाउँदैनन् । आफ्नो लालपूर्जा भएको जग्गामा किसानले जुनसुकै खेती गर्न पनि पाउँछन् । सो खेतीलाई आफ्नो मर्जीमा भित्र्याउन, बेचबिखन गर्न पाउँछन् वा उपभोग गर्न पाउँछन् । तर आफ्नो लालपूर्जा भएको जग्गामा हुर्किएको रुखको उपभोग गर्न पाउँदैनन् ।
रोप्न पाउने, हुर्काउन पाउने तर उपभोग गर्न नपाउने नि सम्पत्ति हुन्छ ? उत्खनन गर्ने हो भने अहिले नीजि जग्गाभित्र अपार वन सम्पदा छ । अमूल्य काठपात छ । तर उपभोग गर्न पाउँदैनन् । व्यवहारिक कामका लागि उसलाई केही हजार वा केही लाख अति आवश्यकता पर्छ तर आवश्यकता पूर्ति गर्न आफ्नै अचल सम्पत्ति बेचेर वा धितो राखेर व्यबहार चलाउन पाउँदैन भने त्यो धन के धन ?
भन्ने बेला हरियो वन नेपालको धन भनिन्छ तर यो कथन ब्यबहारमा लागु हुदैन ।
सदुपयोग गर्न सक्यो भने वन अपार धन हो । वन रोपेर, हुर्काएर बेच्न पायो भने यो कुनै उद्योग, कलकारखाना सञ्चालन गरे जस्तै हो । नीजि जग्गामा लगाइएको काठपात बेचबिखनमा उदारता अपनाइयो भने यो एक सफल ब्यबसाय बन्नेछ । मान्छेहरु रुख रोप्ने, हुर्काउने कर्ममा लाग्नेछन्, हरियाली पनि बढ्नेछ, वातावरण पनि स्वच्छ हुनेछ, व्यक्ति र समाजको अर्थतन्त्र पनि सुदृढ हुनेछ ।वन व्यवस्थापनलाई व्यवस्थित गर्न सकियो भने सामुदायिक वन, सार्वजनिक(सरकारी)वनको काठपातबाट पनि राज्यलाई ठूलो आर्थिक टेवा पुग्नेछ । तर माटोभित्र सडाएर फाल्ने हो भने वन कसरी धन हुनसक्छ ?




