
भाडामा यात्रु बोक्ने निजी सवारी साधनलाई कारवाही गर्न माग
गोरखामा नियम विपरीत भाडामा यात्रु ओसार्ने निजी सवारी साधनलाई कारवाही गर्न ट्याक्सी ब्यबसायीहरुले माग गरेका छन् । ट्याक्सी ब्यबसायीहरुको छाता संस्था गोरखा मनकामना यातायात सेवा प्रालिले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै अनाधिकृत रुपमा संचालित निजी सवारी साधनलाई कारबाहीको माग गरेका हुन् ।
निजी प्रयोजनका चार पाङग्रे सवारी साधनले आफु खुशी भाडा तोकी यात्रुलाई ठग्ने कार्य भइरहेको भन्दै सो ध्यानाकर्षण पत्रमा त्यस्ता सवारी धनीलाई कारबाही गर्न माग गरिएको छ । गोरखा जिल्लाभित्र यातायात ऐन २०४९ को दफा ८ र दफा १२ उल्लंघन गरी गैरकानुनी रुपमा राज्यलाई कर छली रातो प्लेटका(निजी) सवारी साधनले भाडामा यात्रु ओसारेको ज्ञापन पत्रमा भनिएको छ ।
‘यातायात ऐनअनुसार चलेका सार्वजनिक सवारीलाई मात्र यात्रु ओसारपोसार गर्न पाउने गरी सहजिकरण गरिदिनु हुन अनुरोध गरिन्छ’, प्रालिका अध्यक्ष सुरेन लामिछानेले हस्तक्षर गरेको पत्र भनिएको छ, ‘नियम विपरीतका निजी प्रयोजनका सवारी साधनहरुले सार्वजनिक यातायात व्यवसाय नै विस्थापित हुने गरी भाडामा यात्रु ओसारपोसार गर्दै आएकोले नियम अनुसार आवश्यक कारबाही गरिदिनु भनी विनम्र अनुरोध गर्दछौँ ।’
प्रालिले गोरखा बजारको बसपार्क, हरमटारी, १२ किलो, ठाँटिपोखरी, आँबुखैरेनी लगायतका क्षेत्रमा रहेर सेवा दिइरहेको छ । तर निजी सवारी साधनले जथाभावी भाडा असुलेर, राजस्व छली यात्रु ओसारपोसार गरिरहेको छ ।
यातायात सेवासित संवद्ध पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था कार्यालय कास्कीले यात्रुसँग महङ्गो भाडा लिएको पाएमा कारवाही गर्ने बताएको छ ।
गण्डकी प्रदेशभित्र हाल रुट जारी भएका भाडाका सवारी साधनहरुले कानुनी प्रक्रिया पूरा गरी यात्रुहरुलाई सार्वजनिक यातायात सेवा प्रदान गरिरहेकोमा केही रातो प्लेटका(निजी) सवारीहरुले नियम विपरीत भाडामा यात्रु ओसारपसार गरेको भन्ने गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
रुट इजाजत÷पर्मिट जारी भएका भाडाका सवारी साधन(कालो प्लेट) बाहेकका सवारी साधनले भाडामा यात्रु ओसारपसार गर्ने गरेको कहीं कतै पाईएमा यातायात व् यवस्था ऐन, २०४ ९ बमोजिम कारबाही हुने हुँदा त्यस्तो कार्य नगर्न नगराउनु अनुरोध गरेका छन् ।




