| सोमवार, कार्तिक २३, २०८३

सल्लेरीका बाढी पिडित १७ घरधुरीलाई इन्डक्सन चुल्हो वितरण

चुमनुब्री गाउँपालिका ३ का बुढीगण्डकी बाढी प्रभावितलाई इन्डक्सन चूल्हो वितरण गरिएको छ

। गोरखा समाज हङकङको सहयोग र चुमनुब्री मिलन समाज काठमाण्डौको समन्वयमा चूल्हो वितरण गरिएको हो । चुमनुब्री ३ का सल्लेरी, भालुवन र जगतका गरी १७ जनालाई चूल्हो वितरण गरिएको चुमनुब्री मिलन समाज काठमाण्डौका अध्यक्ष विरबल घलेले बताए ।

उनका अनुसार समाजले ५० थान चूल्हो वितरणका लागि पठाएको थियो । तर लगातारको वर्ष र बाढीका कारण बाटो अवरुद्ध हुँदा सबै सामान ढुवानी गर्न पाएका थिएनन् ।

यसअघि पनि ३३ वटा चूल्हो वितरण गरिएको थियो । बाँकी १७ जनालाई वडा अध्यक्ष रामकुमार गुरुङद्वारा वितरण गरिएको घलेले बताए । उत्तरी गोरखा जाने बाटो खुलेसँगै माछाखोलासम्म गाडीमा र त्यो माथि खच्चडबाट बोकाएर लगी चुल्हो वितरण गरिएको उनले बताए । गत असार महिनामा आएको बुढीगण्डकीको भेलले स्थानीय सात घर बगाएको थियो भने अन्य घरहरु पनि जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस्