मतदाता नामावलीमा नाम लेखाउन नछुटौँ
आउँदो चैतको ३ गते स्थानीय तहको जनप्रतिनिधिको पाँचबर्षे अवधि समाप्त हुदैछ । त्यसको केही महिनापछि अर्थात एकबर्षपछिको मंसीर ९ र मंसीर २० गते प्रदेश र प्रतिनिधिसभाको अवधि समाप्त हुँदैछ ।
त्यसअघि निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गर्न १२० दिनको तयारी आवश्यक पर्ने हुँदा अबको केही महिनामै निर्वाचन तोकिने छ । त्यसपछि देश निर्वाचनमय हुनेछ । राजनीतिक दलहरुले चुनावको तयारी स्वरुप आन्तरिक अधिवेशनहरु धमाधम गरिरहेका छन् । यस बिचमा निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरु मार्फत आफ्नो तयारी पनि ब्यापक रुपमा अघि बढाएको छ ।
प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली समसामयिक सर्वोत्तम शासन प्रणाली हो । यसको सुन्दर पक्ष निर्वाचन हो । निर्वाचनबाट स्थानीय सरकार, निर्वाचनबाटै प्रदेश र केन्द्र सरकार चयन हुनेछन् । जननिर्वाचित प्रतिनिधिले पाँचबर्ष शासन सत्ताको वाग्डोर सम्हाल्नेछन् ।
आगामी निर्वाचनका लागि निर्वाचन आयोगले हरेक पालिकामा टोली खटाएर मतदाता नामावली संकलन गर्दैछ । आजदेखि गोरखाको पाँचवटा पालिकाको केन्द्रबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु हुँदैछ । धार्चे, बारपाक सुलिकोट, गण्डकी, अजिरकोट र पालुङटार नगरपालिकामा पहिलो चरण र बाँकीमा २९ गतेबाट नामावली संकलन हुनेछ । पालिकाको केन्द्रमा हुने नामावली संकलनमा सबैले आफ्नो परिचय खुल्ने बिवरण पेस गरेर फोटो खिचाउन सक्नेछ ।
यस अघि गोरखाको दुरदराजबाट गाडी रिजर्भ गरी मतदाता नामावलीका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो । केही सदरमुकाम सम्म आएर फोटो खिचाए भने अधिकासं मतदाता नमावलीमा नाम लेखाउन योग्य भएका नागरिक झन्झटिलो प्रक्रिया, सदरमुकाम सम्म आउनको असजिलोपनका कारण सेवा लिनबाट बञ्चित छन् । निर्वाचन नजिकिँदै गर्दा पालिका स्तरमा पुगेर नामावली संकलन गर्नुले सर्वसाधारण नागरिकलाई सहज हुने भएको छ ।
वडा वडामा पुगेर नामावली संकलन गर्नुपथ्र्यो । भलै पालिकामा भएपनि नामावली संकलन हुनुले सदरमुकाम सम्म पैसा खर्च गरेर फोटो खिचाउन आउनुपर्ने बाध्यता हटेको छ । तर यसका लागि जिल्ला निर्वाचन कार्यालयले पालिका स्तरमा नमावलीक संकलन हुँदैछ भन्ने प्रचार प्रसार ब्यापक बनाउनुपर्छ । जनप्रतिनिधिहरु, राजनीतिक दल, नागरिक समाजका अगुवाहरुले पनि नागरिकलाई सचेत गराउनुपर्छ ।




