
गोरखाका दुईजना लमजुङबाट पक्राउ
प्रहरीले लमजुङको बेंसीसहरबाट सातसय आठ किलोग्राम धुपीसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट तीनसय ग्राम गुच्छी च्याउ पनि बरामद गरेको छ । उनीहरुको साथबाट कुनै पनि पुर्जी वा संकलनका लागि कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ ।
पालुङ्टार नगरपालिका १ का २७ वर्षीय सोमबहादुर नेपालीले चलाएर ल्याएको ग १ ज ७२२१ नम्बरको बोलेरो जीपबाट २६३ किलो धुपीको पात र बारपाक सुलीकोट गाउँपालिका १ का २८ वर्षीय तीर्थराज घलेले चलाएर ल्याएको ग १ ज ७७३७ नम्बरको जीपबाट २ सय किलो धुपीको पात र ३ सय ग्राम गुच्छी च्याउ बरामद गरिएको इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।
जिपमा सवार मनाङ ङिस्याङ गाउँपालिका ५ का ५२ वर्षीया छिरिङ साङ्मा घले र ५८ वर्षीय कर्मा छिरिङ गुरुङलाई पक्राउ गरिएको उनले बताए ।
हिमाली जिल्ला मनाङबाट बेंसीसहर हुँदै काठमाडौं लाने तयारीको ‘अवैध’ धुपीलाई बेंसीसहरको मनाङे चौतारा क्षेत्रबाट पक्राउ गरिएको डीएसपी कृष्णबहादुर कार्कीले बताए ।
उनका अनुसार मंगलबार राति साढे ९ बजेतिर बेंसीसहर नगरपालिका ७, मनाङे चौतारा क्षेत्रबाट अवैध धुपीसहित चा जनालाई पक्राउ गरिएको हो । उनीहरुले ल्याएर बोराभित्र लुकाइछिपाई राखिएको अवस्थामा २ सय ४५ किलो धुपीको पात मनाङे चौतारास्थित तिलिचो होटलको बरन्डाबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद अवैध धुपी र गुच्छी च्याउसहित मानिसलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि बुधबार डिभिजन वन कार्यालय, लमजुङमा पठाइएको प्रहरीले जनाएको छ । डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले मनाङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्रभित्रबाट ल्याएको देखिएकाले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि एक्यापको प्रधान कार्यालय पोखरा पठाएको बताए । एक्याप प्रधान कार्यालय पोखराका सूचना अधिकारी अशोक सुवेदीले प्रहरीले बरामद गरेर पठाएको सामानको अनुसन्धान हुने बताए ।




