| सोमवार, कार्तिक २३, २०८३

के ‘मिलापत्र’ शव्द जस्तै राम्रै काम हो ?

‘मिलापत्र’ शव्दै काफी छ । असाध्यै सकारात्मक शव्द । नमिल्नु भन्दा मिल्नु असाध्यै राम्रो कुरा हो । तर नमिल्दा नमिल्दै पनि मिल्नु, मिल्न लगाउनु चाहिँ अन्याय हो ।

तर गोरखामा भइरहेको छ यस्तै । हिँसाका घटना सकेसम्म घरभित्रै लुकाइन्छ । घरबाट बाहिर निस्क्यो भने समुदायमा छिपाइन्छ । समुदायबाट बाहिर निस्क्यो र न्यायिक निकायमा पुग्यो भने त्यहाँ पनि दबाउन(मिलाउन) दबाब दिइन्छ ।

तथ्यांक केलाउने हो भने अधिकांश घरेलु हिँसाका घटना मिलापत्रमै सिमित हुने गरेको भेटिन्छ । चार महिना यता जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाका ४१ वटा उजुरी दर्ता भएकामध्य १९ वटा उजुरी मिलापत्रमा साम्य भएका छन् । गत एकबर्षमा एक सय १३ वटा यस्ता उजुरी दर्ता भएकोमा ७६ वटा उजुरीको मिलापत्र गरिएको थियो ।

२०७६÷०७७ मा एक सय १६ वटा उजुरी दर्ता भएकामध्य ८० उजुरी मिलापत्र भएको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । २०७८÷०७९ मा बहुविवाह, जवरजस्ती करणी, जवरजस्ती करणी उद्योगको र बाल यौन दुरुपयोग सम्बन्धी एक÷एक वटा मुद्धा परेको थियो । २०७७÷७८ मा बहुविवाह सम्बन्धी ९, जबरजस्ती करणीमा १७, जबरजस्ती करणी उद्योगका ९ र बाल यौन दुरुपयोग सम्बन्धी २ जना विरुद्ध मुद्धा परेको थियो । २०७६÷०७७ मा बहुविवाहमा १३, जबरजस्ती करणीमा १३, जबरजस्ती करणीको उद्योगमा ५ र बाल यौन दुरुपयोग शिर्षकमा ३ वटा मुद्धा परेको थियो ।

अशिक्षा, परम्परागत रुढीवादी सोच एवं कुसँस्कारका कारण घरेलु हिंसा हुन्छन् । महिलालाई स्रोत, साधन, सम्पति तथा अवसरको पहुँच नहुनाले हिंसाजन्य घटना बढ्ने गर्छन् । पारिवारिक, सामाजिक तथा आर्थिक लगायका कारणहरुबाट हिंसामा परी सम्बन्धित निकायमा गएका महिलाहरुले मेलमिलापलाई नै अन्तिम विकल्पको रुपमा स्वीकार्न बाध्य छन् । त्यस्तैलाई बढवा दिन मिलापत्र हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्