नाका खुलाउने पहल फितलो
उत्तरी गोरखा तिब्बत सँग सिमाना जोडिएको क्षेत्र हो । सदरमुकामदेखि पैदल हिडेर पुग्न पाँचदेखि सात दिन सम्म लाग्छ । त्यहाँ खाद्यान्न ढुवानी अझै जटिल छ । तिब्बत सँग जोडिएको नाका दुई वर्षदेखि बन्द छ । कोरोना प्रभावदेखि बन्द नाका अहिले सम्म खुलेको छैन । त्यस अघि नेपाल सरकार र तिब्बत सरकार बिचको समन्वयले नाका केही अवधीको लागि खुल्थ्यो । तर अहिले नाका नखुल्दा उत्तरी गोरखाको चुम र नुब्रीबासीको दैनिकी असहज बनेको छ ।
उत्तरी गोरखाका नागरिकले पटक—पटक त्यहाँको समस्या समाधान गरिदिन, नाका खुलाउन माग गर्दै स्थानीय सरकार, प्रशासन, प्रदेश र संघिय सरकार सँग हार गुहार गरिरहे । शनिवार गोरखा आएर गण्डकी प्रदेशका मूख्यमन्त्री कृष्णचन्द्र नेपालीले उत्तरी गोरखाको समस्या समाधान गर्न आफु तयार रहेको बताए ।
यस्तो आस्वासन उनले केही समय अघि उत्तरी गोरखा नै पुगेर पनि जनाए । जिल्लाका प्रमुखहरुले पनि यो दोहो¥याए । गृहमन्त्री सहित शिर्ष नेताहरु पनि बारम्बार त्यहाँ पुगेका छन् । उत्तरी गोरखाको समस्या प्रति जानकार रहेको, बिभिन्न खालको समस्या नागरिकले भोग्नुपरेकाले समाधान गर्न पहल गर्ने बचन सबैले दिन भ्याए ।
तर बचन दिए अनुसार काम भने कसैले गरेका छैनन् । अहिले हिउँ बाक्लिन थालेको छ । नाका खोलेपनि आउजाउ गर्न असहज हुन सक्छ । आरुघाट तर्फबाट खाद्यान्न लैजान पनि सहज छैन । लोक्पाको पहिरोका कारण छेकम्पार सम्म ढुवानी नै मुस्किल छ । तिब्बतको नाका खोलेको भए नजिकको बजार उत्तरी गोरखाको नागरिकका लागि त्यहाँ हुन्थ्यो ।
नाका खोल्न नसक्ने भए सहज रुपमा पैदल हिड्ने बाटो खुलाउन सक्नुपथ्र्यो । तर दुई मध्ये एउटा पनि काम गतिलो सँग गर्न नसक्नुले सरोकारवाला निकायका जिम्मेवार ब्यक्ति बोलेको कुरा पुरा गर्न कति जिम्मेवार छन्, नागरिकको समस्या प्रति कत्तिको उत्तरदायी छन् भन्ने प्रष्ट देखिन्छ ।




