| सोमवार, कार्तिक २३, २०८३

उत्तरी गोरखाको समस्याबारे नागरिक समाजको चासो

सरकारी पक्ष उदासिन बनिरहेको उत्तरी गोरखाको समस्याप्रति नागरिक समाजले आवाज उठाएका छन् । बाटो अबरुद्ध भएको चार महिनासम्म पनि बाटो खुलाउने प्रयास नभएको, खाद्यान्न आपूर्ति बन्द भएको लामो समयसम्म पनि सुचारु गराउन नसकिएको बारे गोरखाका नागरिक समाजले आवाज उठाएका हुन् ।

सोमबार सोच नेपालको आयोजनामा सदरमुकाममा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले पहल नगरी दिँदा स्थानीयहरुले समस्या झेल्नुपरेको बताएका हुन् । तिब्बतसँग सीमा जोडिएको चुमनुब्री गाउँपालिकामा पटक–पटक पदमार्ग अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या भएको मानव अधिकार सञ्जाल गोरखाका संयोजक यदुप्रसाद अधिकारीले बताएका थिए । तत्काल बाटो निर्माण गर्न र खाद्यान्न ढुवानीका लागि छिट्टै प्रभावकारी कदम चाल्नु पर्ने उनको जोड थियो ।

उत्तरी नाका खुलाउन पहल गर्नुपर्ने भन्दै उनले स्थानीय बासिन्दाको समस्याप्रति प्रशासनको बेवास्ताका कारण समस्यामा परेको बताएका थिए । खाद्यान्न अभाव हुन सक्ने भएकाले खाद्यान्न ढुवानीका लागि तत्काल प्रशासनले नयाँ कदम चाल्नु पर्ने संचारकर्मी किरण लोहनीले बताएका थिए ।

सडक सन्जालले जोडिएसँगै माछाखोलामा रहेको खाद्य डिपो हटाएर नामरुङमा नयाँ डिपो स्थापना गर्नुपर्ने र माछाखोला सोती सडकखण्डको सवारी भाडा मनोमानी रहेकाले तत्काल व्यवस्थापन गर्न प्रशासन अग्रसर हुनुपर्ने समेत उनले बताएका थिए ।

उत्तरी गोरखामा बिरामी, सुत्केरी, घाइतेको तत्काल उद्धार गर्नुपर्दा पूरा गर्ने प्रक्रिया झञ्झटिलो रहेको, पैदलमार्ग अवरुद्ध हुँदा प्रशासन, गाउँपालिका, प्रदेश र संघ सरकारले चासो नदिएको पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले बताएका थिए । हरेक समस्यामा अगुवाई गर्नुपर्ने गोरखाका प्रशासक समस्यादेखि भागेको आभास उत्तरी गोरखाका नागरिकले गरिरहेका उनको टिप्पणी थियो ।

घुम्न जाने ठाउँका रुपमा मात्र प्रयोग गर्ने नभै, यहाँको जनजीवन सहज बनाउन स्थानीय पालिका, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार, संघ सरकार सबै संवेदनशील हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्