उत्तरी गोरखाको खाद्य बारे संवेदनशील बनौँ
राजा महेन्द्र बेला(बेला देश दौडाहामा हिँडेका बेला प्रशासकहरुले ‘यहाँको अबस्था सबै ठिकठाक छ’ भनेर गलत सूचना दिन्थे । यसै क्रममा एक सर्वसाधारणले अनायास ‘खान पाइएन महाराज !’ भनेर कोहोलो गर्दा दुई छाक दूध र भात पनि खान पाएका छैनौँ भनेर महेन्द्रले प्रतिप्रशन गरेका थिए भन्ने आहान प्रसिद्ध छ ।
हाम्रो चुम्चेत र छेकम्पारमा जाने बाटो अबरुद्ध भएको चार महिना भयो । आवतजावत र खाद्यान्न ढुवानी हुन नसक्दा त्यहाँको अबस्था निक्कै जर्जर बन्दै गएको छ तर सरकार मौन छ । यो घटनाले कतै हाम्रा प्रशासकहरुले पनि सो क्षेत्रको बास्तविक अबस्था सरकार समक्ष पु¥याएका छन् त ? भन्ने पुरानो आहान पुनरावृत्ति हुन्छ ।
उत्तरी गोरखा, विशेष गरी चुमनुब्री र अझै वडा नं. ६ चुम्चेत र वडा नं. ७ छेकम्पारमा खाद्य आपूर्ति जटिल बनिरहेको छ । गत भदौ २ गते झरेको पहिरोका कारण लोक्पामा बाटो अवरुद्ध छ । त्यहाँबाट खाद्यान्न ढुवानी हुन सकिरहेको छैन । खाद्यान्न आपूर्ति हुने अर्को वैकल्पिक मार्ग चिनियाँ नाका पनि अढाइ बर्षदेखि बन्द छ ।
यति लामो समयसम्म बाटो अबरुद्ध हुँदा ती दुई वडामा खाद्य आपूर्तिको अबस्था कस्तो छ ? यसको बिषयमा सत्यतथ्य जानकारी लिई प्रदेश सरकार, संघ सरकारलाई जानकारी गराउनु अत्यन्त जरुरी छ ।
ती भेगमा मुख्य खाद्यबाली धान खेती हुदैन । भीर पखेरामा आंशिक गहुँ, जौ खेती हुन्छ तर स्थानीय उत्पादनले मुस्किलले तीन महिना धान्छ ।
त्यति मात्रले जीवन निर्वाह हुदैन । तेल, नून, चिनी, चियापत्ति, घिउ, खुर्सानी लगायतका सो क्षेत्रका लागि अत्यावश्यक सामग्री आपूर्ति भएको छैन । ती सामग्री बिनाको जनजीवन कसरी गुजारा भएको छ ? सोध, खोजको बिषय हो । तर कसैले चासो लिएको देखिँदैन । यसप्रति संवेदनशील बनौँ ।




