| सोमवार, कार्तिक २३, २०८३

तनहुँको आँबुखैरेनी र देबघाटमा कोरोना संक्रमित छैनन्

दरौँदी : तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शून्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो ।


देवघाटका ९० र आँबुखैरेनीका एक सय ११ सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण शुरु भएपछि देवघाटका एक र आँबुखैरेनीका एक सङ्क्रमितको मृत्यु भएको छ ।


हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत कुसुम श्रेष्ठले जानकारी दिनुभयो । भानुमा पाँच, व्यासमा १३, शुक्लागण्डकीमा १६, भिमादमा तीन, म्याग्देमा ६, घिरिङमा एक, ऋषिङमा एक र बन्दिपुरमा एक सक्रिय सङ्क्रमित छन् । सबै सङ्क्रमित होम आइसोलेशनमा छन् ।


जिल्लामा हालसम्म पाँच हजार तीन सय ७५ जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच हजार दुई सय चार जना निको भएका छन् । यसक्रममा एक सय २४ सङ्क्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।


एक लाख बढीले लगाए खोप

तनहुँमा एक लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका एक लाख आठ हजार तीन सय एकले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । दुवै मात्रा लगाउनेको सङ्ख्या ६५ हजार आठ सय ३८ छ ।
जिल्लामा विभिन्न चरणमा कोभिशिल्ड, भेरोसेल, जोन्सोन, एष्ट्राजेनेका खोप अभियान सञ्चालन हुँदै आएको छ । त्यसक्रममा ४५ वर्षमाथिका नागरिक, १८ वर्षमाथिका विद्यार्थी, व्यवसायी, पत्रकार, सुरक्षा निकाय, कर्मचारी लगायतलाई प्राथमिकताका आधारमा खोप लगाइएको छ ।


गोरखामा पनि अझै ४० प्रतिशत भन्दा बढीले खोप लगाउन बाँक िरहेको छ । अहिले पनि स्वास्थ्य कार्यालयले खोप कार्यक्रममा लाई निरन्तरता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्