| सोमवार, कार्तिक २३, २०८३

खारखोला फाँटमा खोला नक्शाङ्कन तथा नियन्त्रण

बर्खायाममा किसानको खेत तहसनहस बनाएको पालुङ्टार नगरपालिकास्थित खारखोलालाई नियन्त्रण गरी आफ्नै खोलाघरमा लगाउने काम भएको छ । पालुङ्टार नगरपालिका वडा नं. १, ९ र १० मा फैलिएको खारखोलालाई एक्साभेटर प्रयोग गरी खोलाघर खनेर खोला नियन्त्रण गरिएको उपभोक्ता समितिका अध्यक्ष जसबहादुर गुरुङले जानकारी दिए ।


नगरपालिकाले १८ दिनसम्म एक्साभेटर प्रयोग गरेर खोला नियन्त्रण गरी खोलाघरमा लगाएको उनले बताए । ‘नगरपालिकाले अमिन खटाएर २०३८ सालको नापी अनुसारकै खोलाघर छुट्याउने काम भयो’, उनले भने, ‘त्यसपछि १८ दिनसम्म एक्साभेटर लगाएर खोला नियन्त्रण गरी खोलाघरमा लगाएको हो ।’ सो काम गर्नका लागि पालुङ्टार नगरपालिका वडा नं. १, ९ र १० का संयुक्त किसानहरु सम्मिलित उपभोक्ता समिति गठन गरी काम गरेको उनले बताए ।


धार परिवर्तन गरेर किसानको खेत बगाएको खोला नियन्त्रण गरेपछि स्थानीय खारखोलाफाँट, कुँडुलेफाँट, सिमलफेद फाँट, आठबिसेबगर फाँट, बज्यैडिही फाँट, गुनेखेत, गाइनेकाटे फाँटका डेढसय जना भन्दा धेरै किसानहरु लाभान्वित भएका छन् ।
सोही क्रममा बाढीले क्षतिग्रस्त नहर, कुलो पनि अस्थायी रुपमा मर्मत गरिएको छ ।

आगामि दिनमा नरपालिका आफैले वा दातृ निकाय जुटाएर तारजाली प्रयोग गरी तटबन्धन गरिदिए स्थायी रुपमा समस्या समाधान हुने किसानको माग छ ।


सो आयोजना सञ्चालनका लागि स्थानीय ज्ञानेन्द्र विष्टको सक्रियतामा पहल गरिएको थियो । विष्टको अनुरोधमा समर्थन गरी मेयर दीपकबाबु कँडेलले खोला नक्शांकन तथा नियन्त्रण गरिएको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्