
आमाको काजक्रिया गर्ने छोरीको प्रशांसा गर्दै वर्षदिनको पढाई खर्च सहयोग
छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने सामाजिक मान्यतालाई तोड्दै आफ्नी आमाको मृत्यु पश्चात काजक्रिया गर्ने साहसिक छोरीलाई वर्षदिनको पढाई खर्चको व्यवस्था भएको छ ।
आमाको मृत्यु पश्चात शोकमा रहेको बेला पनि सामाजिक मान्यता तोड्दै काजक्रिया गरेका गोरखा नगरपालिका १४ कि अर्चना नराललाई स्थानीय समाजसेवी रामप्रसाद खनालले वर्षदिनको पढाई खर्च सहयोग गरेका हुन ।
नरालको आमा इन्दिरा नरालको असार ६ गते कोरोना संक्रमणका कारण निधन भएको थियो । ३ बहिनी छोरी मात्र रहेको नराल परिवारमा आमाको काजक्रियाको लागि तिनै छोरीहरु कपाल मुण्डन गरेर बसेका थिए ।
उनीहरुले सामाजिक मान्यतालाई तोड्दै साहसिक काम गर्दै सामाज परिवर्तनका लागि सकरात्मक भुमिका निर्वाह गरेको भन्दै धेरैले प्रशंसा गरेका थिए ।
सोहि क्रममा आँबुखैरेनी क्याम्पस आँबुखैरेनीमा बिएड दोस्रो वर्षमा अध्ययनरत जेठी छोरी अर्चना नरालको सम्पूर्ण खर्च स्थानीय समाजसेवी रामप्रसाद खनाल व्यहोर्ने घोषण गरका क्याम्पस प्रमुख ऋषि के.सी.ले जानकारी दिए ।
क्याम्पस प्रमुख केसी का अनुसार समाजसेवी खनालले बिएड दोस्रो वर्षको वार्षिक शुल्क २२ हजार मध्य आज पहिलो किस्ता वापत ११ हजार रुपैयाँ क्याम्पसलाई हस्तान्तरण गरेका थिए भने बाँकी रकम माघमा भुक्तानी गर्ने सहमती भएको छ ।
समाजसेवी खनालले आफु स्वंयम उपस्थित हुन नसक्ने भएपछि उनले भाईहरु रामहरि खनाल र रामेश्वर खनाल मार्फत रकम हस्तान्तरण गरेका थिए ।




