
२० युनिटसम्म खपत गर्नेलाई सरकारले निशुल्क विद्युत दिने
सरकारले २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गलाई आगामी महिनादेखि निःशुल्क विद्युत दिने घोषणा गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् सेवा शुल्क नभई २० युनिटसम्म विद्युतको शुल्क निःशुल्क हुने बताइन् । यो व्यवस्थाका लागि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको पनि उनले जनाइन् ।
उनले विद्युतीय चुल्होको प्रयोग बढाउन ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउदै लैजाने पनि बताइन् । विद्युत् खपत बढाउन, आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महशुल समायोजनको निर्णय भइसकेको उनले जानकारी दिइन् ।




