
बूढीगण्डकीले बगाएको यारुबगरको बाटो धार्चे र चुमनुब्री मिलेर बनाउँदै
गोरखाको चुमनुब्री गाउँपालिको जाने यारु बगरको बाटो धार्चे र चमनुब्री गाउँपालिका मिलेर निर्माण गरिरहेका छन् । एक सातादेखि ताराजाली भरेर पैदलबाटो निर्माणको काम भईरहेको चुमनुब्री गाउँपालिका ३ का वडा अध्यक्ष रामकुमार गुरुङले बताए ।
धार्चे गाउँपालिका १ र चुमनुब्री ३ जोड्ने उक्त पुल असार १६ गते बूढीगण्डकी नदीमा आएको बाढीले बगाएको थियो । ‘तार जाली भर्ने काम चलिरहेको छ’ वडा अध्यक्ष गुरुङले भने ।
बाटो निर्माणका क्रममा दश लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘साउन २८ गतेबाट बाटो निर्माण सकिन्छ’ उनले भने । यस अघि उक्त पैदलमार्ग समेत नहुँदा चुमनुब्री क्षेत्रमा खाद्यान्न संकट हुने अवस्था छ । खाद्यान्न बोकेर गएका खच्चड यारु बगरबाट माथि जान सकेको छैन । पैदल हिड्न पनि समस्या भएको ठाउँमा अहिले धार्चे र चुमनुब्री गाउँपालिकाको समन्वयमा बाटो मर्मत गरिएको हो । सर्वसाधारणलाई आउजाउ गर्न केही सहज हुने उनले बताए ।




