
गोरखामा कोरोना संक्रमणदर ३५.३६ प्रतिशत, सक्रिय संक्रमित ५९१ जना
निषेधाज्ञा खुकुलो भएपछि गोरखामा कोरोना संक्रमित बढेका छन् । दुई सय संक्रमित पुग्दा सरकारी कार्यालयको सेवा, यातायात, बजार, बैंक विद्यालय सबै बन्द गरेको डिसिसिएमसी गोरखाले अहिले निषेधाज्ञा कायम छ भन्दै सबै खुल्ला गर्दा समुदायमा संक्रमण ब्यापक भएको हो ।
कोरोना रोमथाम र नियन्त्रणको योजना स्थानीय तहले पनि संचालन गर्न सकेका छैनन् ।
तीन साता अघि एक सय ५० हाराहारी रहेको सक्रिय संक्रमितको संख्या सोमवार पाँच सय ९१ रहेको छ । संक्रमणदर बढ्दै जाँच स्थानीय तहले चेकजाँचमा भने बेवास्था गरेका छन् । अहिले चेकजाँच सुन्यप्रायः छ ।
यस अघि जाँच गरेका मध्ये ३५ दशमलव ३७ प्रतिशतलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयका माहामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए । पालुङटार नगरपालिकामा एक सय ४९, गोरखा नगरपालिकामा एक सय १६, आरुघाट गाउँपालिकामा एक सय तीन जना सक्रिय संक्रमित छन् । यी पालिकामा संक्रमण दर ब्यापक बढेको छ ।
भिमसेन थापा, शहीदलखन र सिरानचोक गाउँपालिकामा पनि संक्रमितको संख्या ५० भन्दा बढी छ । तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा संक्रमित छैनन् भने अन्य १० वटापालिका सबैमा सक्रिय संक्रमित छन् ।
चार हजार पाँच सय आठ जनाले कोरोना जितेका छन् । निको हुने दर ८७ दशमलव ९८ प्रतिशत छ । आठ हजार पाँच सय सात जनाको पिसिआर र नौ हजार छ सय २५ जनाको एन्टिजेन परीक्षण गरिएको छ । पिसिआर अहिले सम्म गरिएका सबैको रिपोर्ट प्राप्त भईसकेको स्वास्थ्य कार्यालयका माहामारी फोकल पर्सन अर्यालले बताए ।
अहिले कोभिड अस्पतालमा उपचाररत २५ जना छन् । संक्रमित मध्ये पुरुषको संख्या धेरै छ । गोरखामा २० देखि ४५ वर्ष उमेर समुहका मानिसलाई कोरोना संक्रमण धेरै देखिएको छ ।




