
गोरखाका लागूऔषध कोरोवार ‘नाईके’ सुरज गुरुङको टोली पक्राउ, अबैध धन्दामा प्रहरी पनि संलग्न
लागूऔषध कोरोवारमा संलग्न गोरखाका एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाण्डौंले लागूऔषध कोरोवार ‘नाईके’ गोरखाका सुरज गुरुङसहितको गिरोहलाई पक्राउ गरेको हो । चितवनबाट पक्राउ परेका ‘नाईके’ गुरुङलाई प्रहरीले १ किलो कोकिन सहित पक्राउ गरेको हो ।
यसरी प्रहरीको फन्दामा परे ‘नाईके’ गुरुङ
प्रहरीले गत शुक्रबार काठमाण्डौं महानगरपालिका १६ पकनाजोलबाट ५०० ग्राम कोकिन र सुनजस्तो देखिने पहेँलो धातु २ किलो ४०० ग्रामसहित ४ जनालाई पक्राउ गर्याे ।
प्रहरीका अनुसार गत शुक्रबार पक्राउ पर्नेहरु मध्य गोरखा नगरपालिका ६ स्थायी घर भई हाल काठमाण्डौंको नागार्जुन बस्ने २९ वर्षीय मुकुन्द खड्का, गोरखा नगरपालिका ८ का रेशमबहादुर राना, सुर्खेत गर्भाकोट नगरपालिका स्थायी घर भई काठमाण्डौं नागार्जुन बस्ने २८ वर्षीय नन्दलाल मान्त, गोरखा आरुघाट गाउँपालिका ६ स्थायी घर भई काठमाण्डौंको टोखा बस्ने ३२ वर्षीय प्रहरी जवान एकराज गुरुङ र गोरखा गण्डकी गाउँपालिकाका मन गुरुङ हुन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्न थाल्यो । प्रहरीको अनुसन्धानबाट कोकिनको ओसारपोसार गर्ने गिरोहको मुख्य नाइके गुरूङ भएको पत्ता लाग्यो । गत शुक्रबार पक्राउ परेका टोलीेबाट बरामद भएको सामान पनि गुरुङकै भएको खुल्यो । त्यसपछि प्रहरीले गुरुङको खोजि तिब्र बनायो ।
यही क्रममा चितवनबाट आईतबार उनी पक्राउ परे । पक्राउ परेका गुरुङले लामो समयदेखि लागुऔषधको कारोवार गर्ने गरेको प्रहरीले जनाएको छ । दुई पटकमा बरामद गरिएको कोकिनको अन्तराष्ट्रिय बजार हालको मुल्य कम्तिमा तीन करोड ३० लाख भन्दा बढी पर्ने प्रहरले जनाएको छ ।
‘नाईके’ गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




