
भोली (बुधवार) गोनपाको सबै वडामा कोरोना बिरुद्धको खोप लगाईने (हेर्नुहोस् कसले लगाउन पाउँछन् खोप)
गोरखा नगरपालिकाको सबै वडामा बुधवार कोरोना बिरुद्धको भेरोसिल खोप लगाईने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ को संस्थागत क्लिनिक गोरखा अस्पतालमा र अन्य वडाको स्वास्थ्य संस्थामा खोप लगाईने स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए ।
‘हामीलाई दुई हजार आठ सय १६ मात्रा खोप आएको छ’ उनले भने ।
५५ वर्ष उमेर माथिका सबै ब्यक्ति, विद्यालय, विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनीक यातायातमा कार्यरत चालक, सह चालकले खोप लगाउन पाउनेछन् । शिक्षक, कर्मचारीलाई खोप लगाउन परिचय पत्र अनिवार्य गरिएको छ ।
५५ वर्ष माथिका नागरिकले उमेर पुष्टि गर्ने कागजात, सार्वजनीक यातायातका चालक सह चालकले भने जिल्ला प्रशासन कार्यालयको सिफारिस पेस गर्नुपर्ने गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यस अघि छुटेका अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपालीले कागजात पेश गरेपछि खोप लगाउन पाउनेछन् । भेरोसिल खोपको पहिलो मात्रा बुधवार लगाईने गोरखा नगरपालिकाले जनाएको छ । हरेक वडाको स्वास्स्थ्य संस्थामा गएर खोप लगाउन नगरपालिकाले सार्वजनीक सुचना जारी गर्दै अपिल गरेको छ ।




