| आइतवार, कार्तिक २२, २०८३

बुधवारबाट लामो दुरीको गाडी चलाउँछौँ : ब्यवशायी

दरौँदी : कोरोना भाइरस संक्रमणको दोश्रो लहर सुरु भएसँगै स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेपछि लामो दूरीको सार्वजनिक यातायात बन्द भएको थियो । संक्रमण कम भएको भन्दै सरकारले हवाई यातायात, जिल्लाभित्रको सार्वजनिक यातायात र बजार खुला गरेपनि लामो दूरीको सार्वजनिक यातायात भने अझै संचालन गर्न अनुमति दिएको छैन ।
सरकारले लामो दूरीको सार्वजनिक यातायात संचालन गर्न रोक लगाएपनि यातायात व्यवसायीले अटेर गर्दै सेवा थाल्ने तयारी गरेका छन् । लामो तथा छोटो दूरीमा बस सेवा संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनीले निषेधाज्ञा नहटाएपनि आगामि बुधबारदेखि देशभर लामो तथा छोटो दूरीको सार्वजनिक यातायात संचालन गर्ने बताएको छ ।
‘बुधवारबाट काठमाण्डौँ, पोखरा, चितवन लगायत यसअघि छुट्ने सबै ठाउँमा गाडी छुटाउँछौँ’ पृथ्वी राजमार्ग बस संचालक कम्पनीका क्षेत्रीय सदस्य बिपिनचन्द्र ढकालले भने ‘अवरोध भयो भने जुन अवस्थामा गाडी छ त्यही अवस्थामा सडकमै छाड्छौँ ।’ कोरोनाको खोप सबैलाई लगाएर दैनिकी सहज बनाउनुपर्ने बेला अझै यातायात बन्द गरेर ब्यवशायी सँगै जनतालाई पनि सरकारले दुःख दिएको उनले बताए ।
बैंकले किस्ता तिर्ने समय लकडाउन अवधी भरको थप गर्नुपर्ने, सरकारले रुट पर्मिट, जाँचपास, बिलबुक नबिकरण निशुल्क गरिदिनुपर्ने, इन्स्योरेन्स कम्पनीले गाडी संचालन नभएको बेलाको पुन कायम गरिदिनुपर्ने र स्वरोजगार मजदुरलाई राहतको ब्यवस्था गर्नुपर्ने माग ब्यवशायीको रहेको सदस्य ढकालले बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएअनुसार भाडा समायोजन गर्नुपर्नेमा ब्यवशायीले जोड दिएका छन् । गोरखामा यातायात संचालन गर्दै आएको दरौँदी यातायात सेवा प्रालिले पनि लामो दुरीको सवारी साधन संचालन गर्न दिनुपर्ने माग गरेको छ । कम्पनीका सदस्य अन्जनबाबु खत्रीले गोरखाबाट मात्रै सवारी लामो दुरीमा चल्न नदिँदा यात्रुले दुःख पाउने बताए । ‘अन्यत्रबाट काठमाण्डौँ जाने, गोरखाबाट किन जान नपाउने ?’ उनले भने, ‘यात्रु खैरेनी, मुग्लिन, धादिङ हुँदै काठमाण्डौँ आउनेजाने गर्दा दुःख पाएका छन ।’ लामो समय यातायात बन्द हुँदा ब्यवशायीले बैंकको किस्ता तिर्न नसकेको तर अहिले असार मसान्त बैंकले ब्यवशायीलाई दबाव दिएको उनले बताए ।
कोरोनाको दोश्रो लहरको प्रभाव कम हुँदै गएपनि विभिन्न पेशा व्यवसाय खुला भएपनि लामो दूरीको सार्वजनिक यातायात सेवा संचालन हुन नसकेको प्रति ब्यवशायी चिन्तित छन् । व्यवसायी र तिनमा निर्भर हजारौं मजदुरको दैनिक रोजीरोटीको व्यवस्था गर्नका लागि पनि सवारी साधन संचालन गर्न बाध्यात्मक परिस्थिति निर्माण भएको ब्यवशायीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्