
असहाय गर्भवती र सुत्केरी महिला लाई राहत सहयोग गर्दै गोनपा उपप्रमुख
असहाय गर्भवती तथा सुत्केरीका लागि सहयोग गर्न गोरखा नगरपालिकाले राहत कोष सुरु गरेको छ । उपप्रमुखसंग असहाय गर्भवती तथा सुत्केरी महिला राहत कोषको स्थापना गर्दै नगरपालिकाले सहयोग वितरण सुरुवात गरेको हो । चालु आर्थिक बर्षमा नगरपालिकाले सो कोषमा ५ लाख रकम विनियोजन गरेको थियो ।
कोष मार्फत सोमबारदेखि असहाय तथा विपन्न वर्गका गर्भवती तथा सुत्केरीलाई रकम वितरण सुरु गरिएको उपप्रमुख विना कुमारी श्रेष्ठले बताइन । ‘हामीले अघिल्लो बर्ष नै रकम छुट्याएको थियौ, तर कार्यविधीका कारण वितरणमा केहि समय लाग्यो’ उनले भनिन ‘अहिले सबै प्रकृया पूरा गरी आवस्यकताको समेत पहिचान गरेर सहयोग रकम वितरणको सुरुवात गरेका हौ ।’
कोष मार्फत सोमबार वडा नम्बर ५ का ४ र ६ का १ गरी ५ जना महिलालाई जनही १० हजार रकम हस्तान्तरण गर्दै उपप्रमुख श्रेष्ठले सो कार्यक्रमको शुभारम्भ गरेकी हुन । कार्यक्रम वडा नम्बर ५ का वडाध्यक्ष रामकुमार थापा मगरको अध्यक्षतामा भएको थियो ।
विपन्नताका कारण गर्भवती तथा सुत्केरी भएको समयमा खानपान लगायत उपचारमा समेत समस्या नहोस भन्ने उदेश्यले सो कार्यक्रम अघि सारिएको उनले बताइन । ‘अहिलेपनि आर्थिक कारण धेरै गर्भवती तथा सुत्केरी दिदीबहिनीहरु पोषिलो आहारबाट बञ्चित हुनुपरेको अवस्था छ, हाम्रो यो कोषको मुख्य उदेश्य नै आमा र बच्चाको स्याहार गर्ने हो’ उनले भनिन ।
गर्भवती अवस्थामै पोषिलो आहारको ब्यवस्थापन गर्न सके बच्चा समेत कुपोषणबाट बच्ने नगरपालिकाले विश्वास लिएको छ । सो रकम प्राप्त गर्नका लागि नगरक्षेत्रका महिलाले वडा कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ ।




