| सोमवार, कार्तिक २३, २०८३

प्रकोप प्रतिकार्य पूर्व तयारी खै ?

‘दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई’ भन्ने नेपाली उखान अहिले बाढी, पहिरोको प्रकोपका बेला निक्कै सान्दर्भिक बनेको छ । हालैको अबिरल बर्षा र त्यसपछिको बाढी र पहिरोका कारण गोरखामा पनि जनधन क्षति भयो । क्षति सर्वत्र भयो, तथापि बूढीगण्डकी करिडोरतिर अलिक धेरै भयो ।
जगत बजारको शीर बूढीगण्डकीको भङ्गलाले हानेको छ । यस्तै बर्सात र बाढी आएमा जगतबजार बगर बन्नसक्ने सम्भावना छ । तातोपानी बजार, माछाखोला बजार र सोती बजार कति जोखिम छ भन्ने बारे जिल्ला विपत व्यवस्थापन समिति कत्तिको जानकार छ ? वा कत्तिको सोध खोज गरिरहेको छ ? बिपद परेपछि हतारिँदै सदरमुकाममा बैठक बस्ने र निर्णय गर्ने परम्परा बर्षेनी दोहोरिरहन्छ ।

बैठकमा गरिने चिन्ताले मात्र बिस्थापितलाई राहत हुँदैन । त्रिपाल नपाएर खुल्ला आकासमा बसेकालाई केही ब्यक्तिले पुगेर राहत बितरण गरे तर जिल्ला बिप्द ब्यवस्थापन समिति त्यहाँ पुग्न सकेन ।
जब बाढी आउँछ, बगाउन सुरु गर्छ, अनि बल्ल पाल खोज्न थाल्छन् । सल्लेरीका पिडितले त पाल पनि यथासमयमा पाउन सकेनन् । दुई दिन निस्लोट झरीमा रुझ्नु प¥यो । विपत व्यवस्थापन समितिको काम विपतमा परेकालाई त्रिपाल बाँढ्ने मात्र होइन । विपतमा पर्न सक्ने ठाउँ रेकी गरी बचाउने पनि हो । यसमा कुनै पूर्व तयारी समितिको देखिँदैन ।

यो बेला बिपत ब्यवस्थापन कोष प्रयोग भएन भने कस्तो बेला गर्ने हो ? जिल्लामा बिपतमा काम गर्ने गैरसरकारी संघ संस्था छन् उनीहरुलाई परिचालन गर्ने योजना खै ?
त्यसका लागि आफ्ना विङ्सहरुको प्रयोग गरी तथ्याङ्क संकलन गर्नुपर्छ । उनीहरुलाई सचेत गराउनु पर्छ र ती ठाउँमा यदि विपत आइपरिहालेमा सिघ्र उद्धार र राहतका लागि पूर्व तयारी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्