
गोरखामा कोरोना प्रतिकार्य समूह परिचालन
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाका लागि कोरोना प्रतिकार्य समूह परिचालन गरेको छ । बुधबार सम्पन्न बैठकले गोरखाका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचारकेन्द्रका एमडिजिपी डाक्टर परिवर्तन बरालको नेतृत्वमा चार सदस्यीय समूह परिचालन गरिएको हो ।
सो समूहमा नर्सिङ प्रशासक रक्षिता लामिछाने, प्रयोगशालाकर्मी विकास रानाभाट र जनस्वास्थ्य निरीक्षक नानीबाबु दानी रहेका छन् ।
सो समूहले लमजुङ, गोरखा, मनाङ र पूर्वीनवलपरासी हेर्ने गरी परिचालित भएको निर्देशनालयले जनाएको छ ।
समुदाय स्तरमा कोरोना नियन्त्रण तथा रोकथामका लागि गोरखासहित गण्डकी प्रदेशका ११ वटै जिल्लामा विशेषज्ञसहितको कोभिड(१९ प्रतिकार्य समूह परिचालन भएको हो । समुदायस्तरमा कोरोना परीक्षण तथा व्यवस्थापनका लागि ११ वटै जिल्लामा विशेषज्ञसहित स्वास्थ्य कर्र्मी तथा प्रयोगशालाकर्र्मी परिचालन गरिएको हो ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार प्रदेशका सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्नका लागि तीन वटा समूह परिचालन भएको बताए । गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले डा शर्माको अध्यक्षतामा कोरोना परीक्षण तथा व्यवस्थापनका लागि टोली गठन गरेको थियो ।




