
मानव सेवा आश्रम र स्वास्थ्य संस्थालाई सहयोग
गोरखा जिल्ला स्वास्थ्य तथा शैक्षिक विकास परियोजना(गडहेड्स) गोरखाले, गोरखा विकास परियोजना बेलायतको सहयोगमा गोरखाका विभिन्न स्वास्थ्य संस्था र मानव सेवा आश्रमलाई सहयोग गरेको छ ।
मंगलबारे गोरखा अस्पताललाई १० लिटर प्रति मिनेट अक्सिजन उत्पादन गर्ने क्षमताका दुई थान कन्सन्ट्रेटर प्रदान गरियो । गडहेड्सका अध्यक्ष रामचन्द्र दवाडी र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सो सामग्री मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेललाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै अध्यक्ष दवाडीले गोरखा नगरपालिकालाई सोही क्षमताको अक्सिजन कन्सन्ट्रेटर, बुंकोट स्वास्थ्य चौकी र भीमसेन थापा गाउँपालिकालाई पाँच लिटर प्रतिमिनेट क्षमताका अक्सिजन कन्सन्ट्रेटर एकेक थान प्रदान गरिएको सँस्थाका उपाध्यक्ष लक्ष्मण आचार्यले जानकारी दिए ।
शहीद लखन गाउँपालिकाका लागि वडा नं. ८ का अध्यक्ष काशिनाथ अम्गाईलाई, भीमसेन थापा गाउँपालिकाका लागि पत्रकार नरहरि सापकोटालाई हस्तान्तरण गरिएको उनले बताए । गडहेड्स युकेले गोरखा विकास परियोजना मार्फत गडहेड्स गोरखाको सहयोगमा वितरण गरेको उक्त सामाग्री गोरखाका समाजसेवी एवं व्यवसायी सितल काजी मास्केको विशेष पहलमा आएको थियो ।
साथै अक्सिजन कन्सन्ट्रेटर प्रयोग गर्दा लगाउने मास्क गोरखा अस्पताललाई २० थान, अक्सिजन मास्क ४० थान र अरु दुई पालिकालाई २०/२० थान हस्तान्तरण गरिएको उनले बताए ।
त्यस्तै गडहेड्सले गोरखास्थित मानव सेवा आश्रमलाई चामल, दाल, नून, तेललगायतका खाद्यान्न प्रदान गरिएको गडहेड्सकी सचिव सरिता अर्यालले जानकारी दिइन् । उक्त कार्यक्रममा संस्थाका सदस्य योङ कुमार श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।




