पार्टी कार्यालयमा आइसोलेशन ?
पहिलो चरणको कोरोना महामारीमा गोरखा क्याम्पसमा ७० बेडको र गोरखा अस्पतालमा २४ शैयाको आइसोलेशन सेण्टर सञ्चालनमा थियो ।
कोरोना बिस्तारै मत्थर हुदै गयो, विद्यालय, क्याम्पसहरुमा पठनपाठन सुचारु हुन थाल्यो अनि क्याम्पसमा निर्मित आइसोलेशन हट्यो ।
क्याम्पसको आइसोलेशनका सामग्रीहरु थन्क्याइयो ।
अहिले दोस्रो चरणको कोरोना महामारी मच्चिरहेको छ । बिरामी दिन परदिन बढिरहेका छन् तर आइसोलेशन सेण्टर गोरखा अस्पतालमा मात्र छ जहाँ जम्मा १२ शैया उपलब्ध छन् ।
आँपपिपल अस्पतालमा २०, मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा १०, आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा १५ र जौबारी प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको आइसोलेशन छन् । तर मंगलबारसम्म जिल्लामा ४४५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
अघिल्लो चरणको भन्दा अहिले फरक के छ भने, पहिले सबै सामुहिक आइसोलेशनमा थिए, अहिले प्राय होम आइसोलेशनमा छन् । जटिलता उत्पन्न भएका मात्र सामुहिक आइसोलेशनमा छन् ।
गोरखा अस्पतालको मात्रै कुरा गर्नुपर्दा सोमबारसम्म आइसोलेशनको बेडसंख्या भन्दा बिरामी संख्या धेरै भए त्यसैले भवन बाहिर बेञ्चमा राखेर उपचार गर्नुपर्ने अबस्था सिर्जना भयो । यो खबर राष्ट्रव्यापी भयो ।
सिर्जित दुखद अबस्थाप्रति सबैको ध्यानाकर्षण भयो । डिसिसिएमसी र गोरखा नगरपालिकाले गोरखा उद्योग वाणिज्य संघसँग आइसोलेशनका लागि भवन माग गरे तर खालि भवन भाडामा दिन तयार गरिरहेको संघले मानवीय संकट उत्पन्न हुँदा पनि भवन उपलब्ध गराएन ।
तत्काल कांग्रेस र माओवादी पार्टीले आफ्नो कार्यालय भवन आइसोलेशनका लागि दिने घोषणा गरे ।
उनीहरुको यो उनीहरुको अति स्वागतयोग्य घोषणा हो । जनता बाँचे भने नै राजनीति बाँच्छ । सामाजिक उत्तरदायित्वलाई मनन गरी गरिएको सो निर्णयप्रति साधुवाद सबैले दिनैपर्छ ।




