| सोमवार, कार्तिक २३, २०८३

भीमसेन थापा गाउँपालिकामा संक्रमितलाई स्वास्थ्य समस्या भए निशुल्क एम्बुलेन्स

गोरखाको भीमसेन थापा गाउँपालिकाले कोरोनाका कारण स्वास्थ्यमा समस्या भएमा स्वास्थ्य संस्था वा अस्पताल लैजानुपर्ने बिरामीलाई निशुल्क सेवा दिन सुरु गरेको छ ।

गाउँपालिका भित्र संक्रमितको संख्या बढ्दो रहेको र होम आईशोलेसनमा बसेकाहरुलाई जतिबेला पनि समस्या हुन सक्ने भएकाले निशुल्क एम्बुलेन्स सेवा दिइएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए ।
वडा नम्बर १, ३, ४, ७ का एक एक जनालाई निशुल्क एम्बुलेन्स सेवा गाउँपालिकाको दिईसकेको छ । संक्रमितको स्वास्थ्यमा थप जटिल समस्या हुन नदिन चार जनालाई एम्बुलेन्स मार्फत निशुल्क सेवा दिईसकिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए ।

‘एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ’ उनले भने ‘कोभिड संक्रमित बिरामीको स्वास्थ्यमा समस्या देखियो भने तत्काल पठाएर नजिकको स्वास्थ्य संस्था ल्याउँछौँ ।’ गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा उपचार नभएर गोरखा अस्पताल वा अन्यत्र रिफर गर्नुपरेमा बिरामीले एम्बुलेन्स खर्च भने ब्यहोर्नु पर्दैन ।
ज्वरो बढेमा, स्वासप्रश्वासमा समस्या भएमा, अक्सिजनको आवश्यक भएमा बिरामीलाई रिफर गर्ने गरिएको छ ।

एम्बुलेन्स चाहिएमा बिरामीले जनप्रतिनिधि वा स्वास्थ्य शाखाका कर्मचारी मार्फत खबर गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।
अश्राङ र घ्याम्पेशाल स्वास्थ्य चौकीमा ए/÷एक वटा एम्बुलेन्स छ । ति मध्ये एउटालाई अहिले कोभिडका बिरामी बोक्न प्रयोग गरिएको छ । ‘आवश्यक परेमा दुईवटै पनि हामीले कोभिडको बिरामीका लागि प्रयोग गर्न सक्छौँ’ स्वास्थ्य शाखा प्रमुख खनालले भने ।

प्रतिक्रिया दिनुहोस्