
धार्चेको माछाखोलामा रुघाखोकीका बिरामी बढे
गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ माछाखोलामा रुघाखोकीका बिरामी बढेका छन् । त्यहाँका करिब ४० जनालाई रुघाखोकी लागेको गाउँपालिका स्वास्थ्य शाखाका केशब गुरुङले बताए ।
रुघाखोकी लाग्ने क्रम बढेपछि कोरोना जाँच गर्न सोमवार १७ जनाको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट आएपछि कोरोना हो वा मौसमी फ्लु हो भन्ने यकिन हुने स्वास्थ्य शाखाका गुरुङले बताए ।
गाउँपालिकाले बिरामी भएकाहरुलाई सुरक्षित बस्न, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, सचेत हुन, स्वास्थ्यमा समस्या देखिए नजिकको स्वास्थ्य संस्था जान अनुरोध गरेको छ ।




