| सोमवार, कार्तिक २३, २०८३

अपाङ्गता भएकालाई घरैमा नागरिकता प्रदान

शारीरिक अपाङ्गता भएका एक युवकलाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता प्रदान गरेको छ ।

गोरखा नगरपालिका वडा नम्बर ९ का सिमन बस्न्यातलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, वडा नम्बर ९ का वडा अध्यक्ष कुलबहादुर कुँवर सहितको टोलीले सोमवार घरैमा पुगेर नागरिकता दिएको हो ।
१८ वर्षका बस्न्यात शारीरिक रुपमा अशक्त छन् । ‘क’ बर्गको अपाङ्गता परिचय पत्र पाएका उनलाई नागरिकता नहुँदा बैंक मार्फत पाउने सामाजिक सुरक्षा भत्ताका लागि समस्या भएको उनकी आमा सबिता बस्न्यातले बताईन् । वडामा नारिकताको सिफारिस लिन पुगेका बस्न्यातलाई वडा अध्यक्ष कुँवरले प्रशासन सँगको सहकार्यमा घरैमा नागरिकता दिने बतावरण मिलाएका हुन् ।

बैंकमा खाता खोल्न नागरिकता आवश्यक परेको र जिल्ला प्रशासन सम्म लैजान समस्या भएको उनले बताईन् । घरैमा पुगेर प्रशासनको टोलीले नागरिकता दिएपछि उनले खुसी ब्यक्त गरिन् । यसअघि पनि प्रमुख जिल्ला अधिकारी सहित जनप्रतिनिधिको टोलीले पूर्ण अपाङ्गता भएकाहरुलाई घरैमा पुगेर नागरिकता बितरण गर्दै आएको छ ।
नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु नपरोस भन्ने ध्येयले घरैमा लगेर नागरिकता दिइएको प्रजिअ पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्