
कोरोनाको दोस्रो चरणको खोप पहिलो दिन ६९० जनाले लगाए
कोभिडविरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको पहिलो दिन मंगलबार गोरखाका ६९० जनाले खोप लगाएका छन् ।
पहिलो दिन गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यस्तै शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र सिरानचोक गाउँपालिकामा पनि पहिलो दिन कोरोनाविरुद्धको दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालका खोप अधिकृत ऋषिराम खत्रीले बताए ।
लक्षित वर्ग अन्तर्गत स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्र्रहरी, बैँक तथा बित्तीय सँस्थाका कर्मचारी, प्राधिकरण तथा सस्थानका कर्मचारी, एम्बुलेन्स चालक, शव व्यबस्थापन तथा सरसफाईमा खटिने कर्मचारी, पत्रकारहरु लगायत रहेका छन् ।
पहिलो दिन गोरखा नगरपालिकामा ३७ जना महिला र एक सय ५७ पुरुष गरी एक सय ९४ जनाले खोप लगाएका छन् । त्यसैगरी पालुङटार नगरपालिकामा ५९ जना महिला र ९१ पुरुष गरी जम्मा एक सय ५० जनाले खोप लगाएका छन् । शहिदलखन गाउँपालिकामा १८ महिला र ६६ पुरुष गरी ८४, बारपाक सुलिकोट गाउँपालिकामा ८५ महिला र ६२ पुरुष गरी एक सय ५० जना र सिरानचोक गाउँपालिकामा ६८ महिला र ६२ पुरुष गरी एक सय ३० जनाले खोप लगाएका खत्रीले जानकारी दिए ।
कार्यालयले आउँदो बैशाख ११ गतेसम्ममा चार हजार २४ जनालाई खोप लगाउने लक्ष्य राखेको अधिकृत खत्रीले बताए । खोप लगाउन पहिलो चरणमा छुटेकाहरुले योे खोप नपाउने र पहिलो खोप लगाएकाहरुले मात्र पाउने उनले बताए । स्वास्थ्य मन्त्रालयबाट चार हजार भ्याक्सिन आएको र दुई सय भ्याक्सिन मौज्दातमा रहेको गरेर जम्मा चारहजार दुई सय भ्याक्सिन उपलब्ध रहेको छ ।




