
प्रवलीकरणले परम्परागत घर पुनर्जीवित गर्दै
पालुङ्टार नगरपालिका वडा नम्बर ४ को बालकृष्ण न्यौपानेको ३५ बर्ष पुरानो मौलिक घरको हालै प्रवलीकरण(रेट्रोफिटिङ) गरिएको छ । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनको सामाजिक प्राविधिक सहजिकरणमा न्यौपाने को घरमा प्रवलीकरण गरिएको हो ।
आठ कोठा र तीन तल्ला भएको ढुंगामाटोले कुँदिएको घरमा भूकम्पले सामान्य क्षति भएपछि भत्काउनु भन्दा जगेर्ना गर्नु उपयुक्त भएकाले समेत प्रवलीकरण गरिएको लाभग्राही न्यौपानेको भनाइ छ । ‘घरमा निहित मौलिकता र पहिचान जोगाउन पनि नयाँ निर्माण नगरी प्रवलीकरण गर्न लागि परेको हो’, उनले भने । पालुङ्टार नगरपालिकामा यसभन्दा अगाडि केही उदाहरणीय घर देखिएपछि मौलिक घर प्रवलीकरण गरेमा सुरक्षित हुने र नयाँ बनाउँदा भन्दा कम खर्चिलो हुने भएकाले घरको प्रवलीकण गर्न लागिएको हो ।
न्यौपानेका अनुसार २०४३ सालमा बन्दीपुर तनहुँबाट घर निर्माण गर्न ढुंगा ल्याइएको र घर निर्माणको क्रमदेखि नै पारिवारिक स्नेह समेत जोडिएकाले प्रवलीकरण गर्न खोजिएको हो ।
प्रवलीकरण गरिएको नमुनायुक्त घरको पालुङ्टार नगरपालिकाका मेयर एवं इन्जिनियर दिपकबाबु कँडेल र वडा नम्बर ४ का कार्यबाहक वडाध्यक्ष दिलेन्द्र बहादुर देवकोटाले सबै वडामा सामान्य क्षति पुगेका परम्परागत घर जोगाउन समेत प्रवलीकरण उपयुक्त हुने बताए । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला इन्जिनियर दिवस दाहालले परम्परागत घरमा समेत आधुनिक शैलिका सामग्री राखेर ढलाने घर जस्तै दह्रो र सुरक्षित बनाउन सकिने बताए ।
उनकाअनुसार हालसम्म गोरखा जिल्लामा परियोजनाका कार्यक्षेत्र रहेको गोरखा नगरपालिकामा ८, पालुङ्टार नगरपालिकामा १५, सिरानचोक गाँउपालिकामा ५, शहिदलखन गाँउपालिकामा २, आरुघाट गाँउपालिकामा २, धार्चे गाँउपालिकामा ५ र गण्डकी गाँउपालिकामा ८ गरी ४५ वटा घरको प्रवलीकरण सम्पन्न गरिएको छ । परियोजनाअन्र्तगत पालुङ्टार नगरपालिकाका टिम संयोजक ् इन्जिनियर नरेश निदालले प्रवलीकरण गरिने घरमा स्थानीय डकर्मीलाई क्षमता अभिवृद्धिका लागि ५ दिने तालिम समेत दिएर सहजिकरण गरिएको बताए ।




