सडक त पिच, तर कति दीगो ?
गोरखामा यसबर्ष धेरै नै सडक कालोपत्रे हुने भएको छ । गतबर्ष करिब ७० किलोमिटर सडक कालोपत्रे भएको थियो । यसबर्ष पनि त्यसको झण्डै आधा सडक कालोपत्रे गर्न लागिएको हो ।
गतबर्ष भूकम्पीय आयोजना भएकाले धेरै सडक कालोपत्रे भएको थियो । तर यसपटक नियमित कार्यक्रम अन्तर्गत नै कालोपत्रे गर्न थप्न खोजिएको हो । त्यसैले पनि परिमाणमा कमी आएको हो ।
सडक कालोपत्रे गरेर हिउँद, बर्खै सवारी साधन चल्न पाउनु भनेको विकास निर्माणको दृष्टिले धेरै ठूलो प्रगति हो । सडक त अहिले गाउँगाउँ, टोलटोल, बस्तीबस्तीमा पनि बनेको छ । सडक बन्नुलाई मात्र ठूलो प्रगति मान्नु नपर्ने भयो । अब बनेका सडकलाई पक्का गर्ने काम कुन दरमा भएको छ भन्ने कुराले महत्व राख्छ ।
मानौँ अब सडक पक्का भयो, अर्थात कालोपत्रे भयो भने पनि धेरै उत्साहित हुनुपर्ने ठाउँ हुदैन । किनभने यसअघि जिल्लाका बिभिन्न सडकमा भएको कालोपत्रेको अबस्था कस्तो छ ? त्यो हेर्नु र त्यसका कारणहरुको विश्लेषण गर्नु जरुरी छ ।
अधिकांश सडक छ महिना नपुग्दै, एकबर्ष नपुग्दै वा दुईबर्षभित्र भत्किएको पाइन्छ । चार पाँच बर्षमा त सडक पुरानै अबस्थामा फर्केको हामी जोकोहीको आँखाबाट छिपेको छैन । यसको कारण लापार्बाहीबाहेक अरु हुनै सक्दैन ।
कालोपत्रेको मोटाइ, कमशल सामग्री(बिटुमिन)को प्रयोग, प्रयोग हुनुपर्ने परिमाणमा बालुवा, गिटी, तापक्रम आदि प्रयोग नहुनु यसको कारण हो । त्यस्तै क्षमताभन्दा धेरै सवारी साधन गुड्नु, सडकको क्षमता भन्दा ठूला सवारी साधन चल्नु, कालोपत्रे सडकमा लामो समयसम्म पानी पर्नु पनि कालोपत्रे दीगो नहुनुको कारण हो । त्यसैले यस्ता गतिविधिप्रति सबै सचेत हुनु जरुरी छ ।




