बर्सेनि थपिँदै क्षयरोगका बिरामी
नेपालमा हरेक वर्ष क्षयरोगका बिरामी थपिने गरेको एक तथ्यांकले देखाएका छन् । आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार जना नयाँ क्षयरोगका बिरामी थपिने गर्दछन् ।जसमा नयाँ तथा पुराना क्षयरोगका बिरामीको संख्या वार्षिक करिब १ लाख १७ हजार जना रहेको आकलन गरिएको छ । धेरै उपचारको दायरामा आउन नसकेका कारण पनि क्षयरोगीको संख्या बढिरहेको तथ्यांकले जनाएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचन भन्छन्–‘क्षयरोग कार्यक्रमको उपचार प्रक्रियामा नआएका क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याउन ठूलो चुनौती रहेको छ ।’
क्षयरोगका नयाँ बिरामी वार्षिक रुपमा थपिने र पत्ता लागी उपचारमा आएकाको तथ्यांकलाई हेर्ने हो भने उपचारको दायरामा नआएका करिब ४१ हजार क्षयरोगका नयाँ बिरामी पत्ता लगाई उपचारमा ल्याउनुपर्ने अवस्था रहेको केन्द्र बताउँछ ।
‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ यो वर्ष पनि मार्च २४ गतेका दिन विश्व क्षयरोग दिवस मनाइँदैछ ।
आव २०७६/७७ मा नेपालमा क्षयरोगका बिरामी पत्ता लाग्ने ९३ जना प्रतिलाख जनसंख्यामा रहेको थियो । यसैगरी गत आवमा १ लाख ५५ हजार ३ सय ७१ जना क्षयरोगका सम्भावित व्यक्तिहरूको विभिन्न विधिबाट परीक्षण गरी जम्मा २७ हजार ७ सय ४५ जना क्षयरोगका नयाँ बिरामी पत्ता लगाई राष्ट्रिय क्षयरोग कार्यक्रमको नीतिअनुसार उपचार गरिएको थियो ।
क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार, नेपालमा हाल निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान (९%) तथा उपचार गराउनेको संख्या करिब १५ % रहेको अनुमान गरिएको छ । निजी स्वास्थ्य संस्थाबाट उपचार गराइरहेका बिरामीलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीभित्र ल्याउन प्रयास भइरहेको केन्द्रको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनको आंकलन अनुसार नेपालमा वार्षिक रुपमा करिब २,२०० औषधि प्रतिरोधी क्षयरोगका बिरामी थपिने गरेका हुन । गत आव २०७६/७७ मा औषधि प्रतिरोधी क्षयरोगका ३ सय ८४ जना बिरामी नियमित उपचारमा ल्याइएको थियो । उक्त संख्या अत्यन्त न्यून हो र अझै ८३ प्रतिशत औषधि प्रतिरोधी क्षयरोगका बिरामी उपचारको दायरामा ल्याउन ठूलो चुनौतीको रुपमा रहेको थियो ।
क्षयरोगका बिरामीहरुलाई लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नु पर्ने भएकाले धेरै बिरामी औषधि नियमित सेवन गर्दैनन् । यो सहज बनाउन बिरामीको घरमै औषधि खुवाउन समुदायमा आधारित क्षयरोग उपचार व्यवस्थापन कार्यक्रमको मूल्यांकन गरी आगामी ५ वर्षभित्र नेपालका सबै जिल्लामा उक्त कार्यक्रमा विस्तार गरिने केन्द्रका निर्देशक डा. भट्टचनले जनाउँछन् ।
हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य प्रणालीमार्फत जम्मा ४ हजार ९ सय ५५ उपचार केन्द्रहरुबाट डट्स उपचार सेवा तथा ७ सय ६५ प्रयोगशाला र ७२ वटा जिन एक्सपर्ट केन्द्र एवं २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालाहरुबाट क्षयरोगको रोग निदान सेवा प्रदान गर्दै आएको छ ।




