
व्यवहारिकता हेरिदिन सुनचाँदी व्यवसायीको आग्रह
गोरखाका सुनचाँदी व्यवसायीहरुले सुनको कारोबारमा कतिपय अबस्थामा व्यवहारिकता हेरिदिन आग्रह गरेका छन् । गोरखामा हालै प्रहरी प्रमुखको पद सम्हालेका एसपी शेखर खनालसँगको सुनचाँदी व्यवसायी संघले आयोजना गरेको परिचयात्मक कार्यक्रममा व्यवसायी हरुले यस्तो आग्रह गरेका हुन् ।
‘गोरखामा राष्टिूय वाणिज्य वैँकले र मेगावैँकले सुनचाँदी धितो राख्ने गरेका थिए । अहिले वाणिज्य वैँकले मात्र धितो राख्छ, त्यही पनि बिहान मात्र यो सेवा छ’, सुनचाँदी व्यवसायी संघका महासचिव राजु बरालले भने, ‘तर सर्वसाधारणलाई अकस्मात पैसा चाहिन सक्छ । वैँकिङ प्रक्रिया झञ्झटिलो भएकाले सुनचाँदी व्यवसायीहरुलाई सम्पर्क गरी तपाईसँग किनेको गहना हो, तपाईहरुले राखेर नगद सरसापट दिनुपर्यो भन्न आउनुहुन्छ । त्यतिबेला हामीले गहना राखेर नगद दिनु जायज नै हो । तर यसलाई अवैध काम गरेको भनेर कारबाही गरिन्छ ।’ यस्ता घटनामा व्यवहारिकता हेरेर काम गरिदिन व्यवसायीहरुले माग गरेका थिए ।
त्यस्तै व्यवसायीहरुले बिल बिनाको सुनको कारोबारलाई पनि व्यवहारिकता हेरिदिन प्रहरी प्रमुख समक्ष अनुरोध गरेका थिए । ‘कतिपय अबस्थामा बिल हराउन सक्छ, नष्ट भएको हुनसक्छ । बिल हरायो भन्दैमा सुन बेकम्मा बनाउन त भएन नि’, बरालले भने, ‘त्यसैले अबस्था र परिस्थिति हेरेर व्यवसायीहरुले बिल बिनाका सुनको कारोबार गरेका हुनसक्छन् । व्यवहारिकता नै नहेरी बिलकै आधारमा कारबाही प्रक्रिया अघि बढाउनु हुदैन भनेर व्यवसायीहरुले तर्क गर्नु भएको थियो ।’ व्यवसायीहरुको कुरामा एसपी खनालको अभिव्यक्ति सकारात्मक नै रहेको आफूहरुले पाएको उनले बताए ।
संघका अध्यक्ष पर्व विश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




