| आइतवार, कार्तिक २२, २०८३

चौतारा मास्ने ‘ध्वंसात्मक प्रवृत्ति’

‘चौतारा’ परोपकारको पर्याय हो । कसैले परोपकारी काम गरे भने ‘चौतारा लगाएछ’ भन्ने संज्ञा दिइन्छ ।
चौतारो धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीयलगायत बहुउपयोगी सम्पदा हो ।

प्रधानतः पदयात्रीलाई थकाइ मार्ने स्थलको रुपमा चौतारालाई लिइन्छ । चौताराको बर पिपलमा ग्रह पूजा गरेर मान्छेहरु ग्रह काटिएको, पुण्य कमाइएको महशुस गर्छन् । त्यसैले यो धार्मिक आस्थाको केन्द्र हो ।
तर त्यतिले मात्रै यसको महत्व पुग्दैन ।
गाउँठाउँका कचहरी, नियाँ निसाफ छिन्ने थलो, बर पिपल छोएर धर्म भाक्ने ठाउँ चौतारा नै हो ।

मेला जानुअघि खेताला भेला हुने, मेलाबाट फर्केपछि थकान बिसाउने, ठूला चाड पर्वमा जमघट भएर नाचगान गर्ने ठाउँ पनि चौतारो नै हो ।
चौतारामा बर पिपलको रुख रोपिन्छ, जसलाई अक्सिजनको सबैभन्दा ठूलो स्रोत मानिन्छ । चौताराको बर पिपलको फलमा बालबच्चा, चराचुरुङ्गी झुम्मिन्छन् । जसलाई निकै पोषिलो फल पनि मानिन्छ । त्यति मात्र नभै बर पिपलको फिँजिएको जराले भूक्षय रोक्ने सत्यलाई पनि स्वीकार्नुपर्छ ।
तर अहिले विकासको नाममा वर पिपल चौतारो मास्न थालिएको छ ।

धार्मिक, सांस्कृतिक सम्पदाप्रति आस्था नभएका, विनाशकारी, विध्वंसकारी चेत भएका जनप्रतिनिधिको हावी भएको छ । उनीहरुको ठाडो निर्देशनमा गाउँगाउँका चौतारा, बगैँचा मासिन थालेका छन् । नयाँ संरचना निर्माण गर्दा प्राचीन सम्पदा नष्ट गर्न ऐन, कानूनले दिदैन तर ऐन, कानूनलाई लत्याएर यस्ता धरोहर नष्ट गर्न थालेका छन् , जुन दुखद छ ।
स्थानीय जनप्रतिनिधिको घैँटामा घाम लाग्नुपर्छ । धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाको संरक्षण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्