
प्रहरीद्वारा पुर्जीबिनाको काठ बरामद
कटान, चिरान तथा ओसारपसार अनुमति पत्र नलिई ढुवानीको तयारीमा रहेको ठूलो परिमाणको काठ प्रहरीले बरामद गरेको छ । चिरान नगरिएको आठथान गोलो काठ प्रहरीले पालुङ्टार नगरपालिका १ मसानेठाँटीबाट बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त प्रमुख डिएसपी प्रकास दाहाल नेतृत्वको प्रहरी टोलीले सोमबार साँझसाँढे छ बजे पालुङटार नगरपालिका १ मसानेठाँटीबाट काठ बरामद गरेको जनाइएको छ । ‘सालको काठ लोड गरेर ओसारपसारको तयारी भइरहेको देखियो । आवश्यक कागजात खोजतलास गर्दा केही पनि भेटिएन’, डिएसपी दाहालले भने, ‘कुनै पनि पुर्जी हुँदै नभएको हो कि, त्यतिबेला मात्र नभएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’ सो काठ मंगलबार डिभिजनल वन कार्यालय गोरखालाई बुझाउने उनले बताए ।
प्रहरीले सालको काठ बरामद गरेको स्वीकार्दै डिभिजन वन अधिकृत अशोक श्रेष्ठले नीजि वनको काठ हुनसक्ने प्रारम्भिक रुपमा बुझिन आएको बताए । ‘थप कुरा त अनुसन्धानपछि पत्ता लाग्ला’, उनले भने ।
यसअघि लामो समयदेखि पालुङ्टार नगरपालिका वडा नं. १ र वडा नं. १० को सीमानामा रहेको वनबाट ठूलो परिमाणमा अवैध काठको चलखेल हुने गरेको थियो ।




