
अजीरकोटमा पाँचदिने सार्वजनिक सुनुवाई अभियान सुरु
अजीरकोट गाउँपालिकाले वडा वडामा सार्वजनिक सुनुवाई अभियान सुरु गरेको छ । गत मंगलबारदेखि शनिबारसम्म सार्वजनिक सुनुवाई अभियान सञ्चालन गरेको गाउँ पालिकाका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिए ।
पहिलो दिन मंगलबार वडा नं. १ को कार्यालय घ्याच्चोकमा र दोस्रो दिन बुधबार वडा नं. २ को कार्यालय खरिबोटमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
वडा नं. १ मा वडाअध्यक्ष मनु गुरुङको अध्यक्षतामा र वडा नं. २ मा वडाअध्यक्ष भीमलाल तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ कार्यपालिकाका शिक्षा, कृषि, भेटनरी, स्वास्थ्य, प्राविधिकलगायत सवै विषयगत शाखा प्रमुखहरुले चालु आर्थिक बर्षको दोस्रो चौमासिक बितिसक्दासम्म सम्पन्न भएका कार्यक्रम तथा खर्चका बारेमा जानकारी गराएका थिए ।
उपस्थित सेवाग्राहीहरुले समग्र गाउँपालिका र आ-आफ्ना वडाको विकासको वारेमा भएका क्रियाकलापहरुको वारेमा जिज्ञासा राखेका थिए ।
उनीहरुले दरवन्दी मिलान, प्रस्तावित विद्यालयहरुमा शिक्षक अभावका विषयमा चिन्ता व्यक्त गरेका थिए । साथैः गाउँघर क्लिनिकको भौतिक पूर्वाधार विकास, क्वारेन्टाईनमा बसेकाहरुले दैनिक रुपमा पाउनु पर्ने १७५ रुपैयाँ नपाएको भन्दै गुनासो गरेका थिए । त्यस्तै वडामा कृषि प्राविधिक माग गरेका थिए । पालिकाले सञ्चालन गरेको कृषि तथा पशु विकासका कार्यक्रमको बारेमा अनभिज्ञ हुने भएकाले हरेक कार्यक्रमहरुको बारेमा जानकारी गराउनु पर्ने माग गरेका थिए ।
त्यस्तै असिस्टेण्ट सव ईन्जिनियर वडामै रहने गरी खटाउनु पर्ने, प्रदेशले विनियोजन गरेका आयोजनाहरुमा प्राविधिक सहयोग गाउँपालिकाबाट प्राप्तहुन नसकेको, आफ्नो क्षेत्रमा सञ्चालित जलविद्युत आयोजनाले समन्वय नगरी प्राकृतिक दोहन गरेको लगायतका गुनासो गरेका थिए ।
कार्यक्रममा उठेका विषयहरुमा विषयगत शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाका विषयगत समितिका संयोजकहरु, गाउँपालिका अध्यक्षले जवाफ दिएका थिए । उनीहरुले वडामै रहने गरी असिस्टेण्ट सव ईन्जिनियर र पशु वा कृषि प्राविधिक एक हप्ताभित्र व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
गाउँकार्यपालिकाको कार्यालय र वडा कार्यालयले प्रवाह गरेको सेवा र संचालन गरेको विकास निर्माणको कार्यमा नागरिकहरुको अभिमत लिनका लागि कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञावलीले जानकारी दिए । नागरिकको समस्या तथा सवाल ग्रहण गरी टोलबस्तीमा रहेका समस्याहरुको निराकरण गर्ने उद्देश्य रहेको उनले बताए ।
बिहिबार वडा नं. ३ को वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने पालिकाले जनाएको छ ।




