| सोमवार, कार्तिक २३, २०८३

धुवाँकोटका किसानलाई कृषि सामग्री वितरण

धुवाँकोटका किसानलाई कृषि सामग्री वितरण
पालुङटार नगरपालिका वडा नं. ८ को कार्यालयले आफ्ना वडाभित्रका व्यवसायिक किसानहरुलाई कृषि सामग्री वितरण गरेको छ । बिहिबार वडा कार्यालयमा आयोजित एक समारोहका बीच वडाअध्यक्ष शंकर कँडेलले हाते टिलर, घाँस तथा पराल काट्ने उपकरण र प्लास्टिक टनेल वितरण गरेका हुन् ।

‘किसानको ३० प्रतिशत लागत साझेदारीमा चार जना किसानलाई हातेटिलर, दुई जना व्यवसायिक पशुपालक किसानलाई घाँस तथा पराल काट्ने मेसिन(चाप कटर) र बेमौसमी तरकारी खेती गर्ने ३० जना व्यवसायिक किसानलाई प्लास्टिक टनेल वितरण गरियो’, वडाअध्यक्ष कँडेलले भने, ‘हातेटिलरमा किसानको ३० प्रतिशत र ७० प्रतिशत वडा कार्यालयको लागत साझेदारी गरियो । चाप कटर र प्लास्टिक टनेलमाचाहिँ किसानसँग २५ प्रतिशत र ७५ प्रतिशत वडा कार्यालयको लागत साझेदारी गरिएको थियो ।’ कृषितर्फको चारलाख रुपैयाँको लागतमा कृषि सामग्री वितरण गरिएको उनले बताए ।

वडाको सहयोगमा प्रदान गरिएको हाते टिलर भाडामा दिँदा किसानसँग सहुलियत दरमा भाडा लिने व्यवस्था गरिएको छ । यसअघि प्रतिघण्टा एकहजार लिने गरिएकोमा सहुलियतको टिलरले जोत्न प्रतिघण्टा सातसय रुपैयाँ भन्दा कम भाडा लिने व्यवस्था गरिएको उनले बताए । टोल विकास संस्थाको सिफारिसको आधारमा मिनीटिलर प्रदान गरिएको र इच्छुकहरुसंग आवेदन संकलन गरी चापकटर र प्लास्टिक टनेल वितरण गरिएको वडाअध्यक्ष कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्