
गोरखामा कृषि गणनाबारे अभिमुखिकरण
राष्ट्रिय कृषि गणना २०७८ को अभिमुखिकरण कार्यक्रम गोरखामा मंगलवार सम्पन्न भएको छ । तथ्याङ्क कार्यालय गोरखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा कार्यक्रम भएको हो ।
किसान परिवार कति छन् ? आम्दानी कति ? कृषि गरेर खान पुग्छ वा पुग्दैन ? अवस्था के छ ? कस्ता बस्तुभाउ किसानले पालेका छन् ? कति जनाले रोजगारी पाएका छन् ? मल बिउ को अवस्था के छ ? कृषिमा आधुनिकिकरण छ या छैन ? भन्ने बारे गणनापछि थाहा हुने गोरखाका तथ्याङ्क कार्यालयका प्रमुख महेश प्रसाद ढुङ्गानाले बताए ।
‘यसले कृषिमा कस्तो नीति लिने, कार्यक्रम कस्तो बनाउने भन्ने यकिन हुन्छ’ उनले भने ‘कृषि लक्षित कार्यक्रम र योजना बनाउन तथ्याङ्क आवश्यक पर्छ ।’
सहभागीहरुले माछा पालन गर्ने, अरुको जग्गामा लामो समयदेखि खेती गर्नेहरु, कौशी खेती गर्नेहरुलाई पनि कृषि गणनाले समेट्नुपर्ने बताएका थिए । सातौँ कृषि गणना २०७८ माघदेखि चैतसम्म गोरखामा हुने कार्यालय प्रमुख ढुङ्गानाले बताए ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख, कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।




