| आइतवार, कार्तिक २२, २०८३

मेची महाकाली यात्राको टोली गोरखामा

सडकमा आश्रित सहयोगापेक्षी मानवको उद्धारका लागि आयोजित ‘मेची महाकाली महाअभियान’को टोलीलाई गोरखामा स्वागत गरिएको छ ।

आइतबार गोरखा सदरमुकाममा एक समारोहको आयोजना गरी राष्ट्रिय उद्धार टोलीलाई गोरखा नगरपालिकाले सदरमुकाममा स्वागत गरेको हो ।
यात्राका क्रममा सडकमा रहेका असहाय, बेसाहारा, अनाथ र अभिभावक बिहिनहरुलाई उद्धार गरिनेछ । अहिले जाडो मौसममा सडकमा गुजारा गरिरहेकाहरुलाई झनै समस्या हुने भएकाले उद्धार आवश्यक रहेको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । ‘स्थानीय, प्रदेश र संघीय सरकारलाई जिम्मेवार बनाउन पनि यात्राले थप मद्धत पुग्नेछ’ सो समारोहमा कृतज्ञता मन्तव्यका क्रममा उनले भने ।
पुस सात गते मेचीको काँकडभिटाबाट सुरु भएको अभियान माघ ७ गते महाकालीको महेन्द्रनगर पुगेर सकिनेछ । प्रदेश नम्बर १, २ र ३ को यात्रा सकेर टोली शनिबार साँझ गण्डकी प्रदेशको गोरखा आइपुगेको थियो । उनीहरुलाई गोरखा नगरपालिकाको समन्वयमा नागरिक समाजले पनि सम्मान गरेका थिए ।
आश्रमले २०६९ सालदेखि हालसम्म ५ हजार भन्दाबढी असहाय, अनाथ र अभिभावकबिहिनहरुलाई उद्धार गरिसकेको जनाएको छ । उद्धार गरिएका मध्ये एक हजार पाँच सयभन्दा बढिको पारिवारिक पुनरमिलन गराउन सफल भएको आश्रमले जनाएको छ ।
अहिले पनि आश्रममा एक हजार तीन सयभन्दा बढि मानिस आश्रित छन् ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख जनुका अधिकारी, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, अभिभावक ईश्वरकाजी मास्के, पत्रकार कैलाशबावु श्रेष्ठ, गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठ, मानव सेवा आश्रम गोरखाकी मुना लामा लगायतले धारणा राखेका थिए । गोरखामा स्वागत गर्दै सहभागीलाई यात्रा सफलताको शुभकामना समेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्