| आइतवार, कार्तिक २२, २०८३

तनहुँमा पुल निर्माणमा अबरोध

तनहुँको व्यास नगरपालिका-३ शान्तिनगर र व्यास नगरपालिका-५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध गरिएको छ । माटो परीक्षणका लागि आएको टोलीलाई शान्तिनगर टोल विकास संस्थाका केही पदा धिकारीले अवरोध गरेका हुन् ।
शान्तिनगरका केही बासिन्दाले हाल झोलुङ्गे पुल भएकै ठाउँमा पुल निर्माण हुनुपर्ने र सोही ठाउँमा माटो परीक्षण गर्नुपर्ने माग गरेका छन् । उक्त ठाउँमा यस अगाडि नै माटो परीक्षण गरिएको र उक्त ठाउँमा पुल निर्माण सम्भव नदेखिएको बताइएको छ ।


व्यास-३ स्थित महर्षि वेदव्यास संस्कृत मावि नजिक रहेको ठाउँमा माटो परीक्षणका लागि प्राविधिक टोली पुगेको थियो । शान्तिगरका बासिन्दाले उक्त ठाउँमा विवाद गरेपछि एक/दुई दिनका लागि काम रोक्न आग्रह गरिएको व्यास-३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए ।
’शान्तिनगरका केही साथीहरुले माटो परीक्षण गर्न दिन्नौँ भनेर विवाद गरेपछि नगरप्रमुखसँगको सल्लाहमा एकरदुई दिन काम रोक्न भनेका हौँ’, वडाध्यक्ष श्रेष्ठले भने,’सोमबार पाटनवासी ‘डेलि गेशन’ जानुभएको रहेछ, दुवै ठाउँकै माटो परीक्षण गर्ने अनौपचारिक सहमति भएको थाहा पाएको छु ।’


माटो परीक्षणका लागि अवरोध भएपछि पाटनवासीले व्यास नगरपालिका घेराउ गरेका छन् । उनीहरुले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई भेटी काम सञ्चालन गर्ने वातावरण बनाइदिन अनुरोध गरेका छन् । नगरप्रमुख न्यौपानेले दुवै ठाउँका बासिन्दाबीच सहमति गरेर अगाडि बढ्नुपर्ने बताए ।

’जहाँ उपयुक्त हुन्छ, त्यहाँ पुल बन्नुपर्छ, दुवै ठाउँका स्थानीयवासीसँग बसेर विवाद समाधानमा पहल गर्छौँ’, न्यौपानेले भने ।

प्रतिक्रिया दिनुहोस्