
पारिवारिक निजी वनको सम्भावना र चुनौति बिषयक अन्तरक्रिया
पारिवारिक तथा निजी तहबाट व्यवस्थित गरिएको वन सम्पदालाई उपभोक्तामैत्री बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पारिवारिक तथा निजी वन जिल्ला संघ, गोरखाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै उपभोक्ताहरुले उच्चस्तरीय अध्ययन टोलीले प्रस्तुत गरेको सुझाव अनुसार पारिवारिक तथा निजी वनलाई उपभोक्तामैत्री बनाउनु पर्नेमा जोड दिएका हुन् ।
‘पारिवारिक तथा निजी स्तरबाट व्यवस्थित गरिएको वनमाथिको जटिलता हटाउन उच्चस्तरीय अध्ययन समितिले वन मन्त्रालयमा सुझाव पेश गरेको छ । सोही सुझाव अनुसार मन्त्रालयले बिभिन्न जटिलताहरु हटाएर उपभोक्ता मैत्री बनाउनुपर्छ भन्ने बारेमा अन्तरक्रियामा धेरैजनाले राय पेश गर्नुभयो’, संघका केन्द्रीय कोषाध्यक्ष राजेन्द्र भट्टले भने ।
जिल्ला संघका अध्यक्ष भरत कट्टेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, संघका केन्द्रीय अध्यक्ष जोगराज गिरी, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गैरसरकारी संस्थाका अध्यक्ष सिताराम श्रेष्ठ, नेकपाका प्रदेस सभा सदस्य बाबुराम थापा, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री, गोरखा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष नारायण अर्याल, मानवअधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




