
उत्तरी गोरखाको सिङ्लामा दन्तरोगको उपचार शिविर सम्पन्न
दराैँदी समाचारदाताः गोरखाको दुर्गम गाउँ सिङ्लामा दन्तरोग उपचार शिविर सम्पन्न भएको छ । गत मंगलबारदेखि सुरु भएको तीन दिने सो शिविरमा १५० जनाको दाँतको रोगको जाँच तथा उपचार भएको आयोजक सँस्था हिमालय यात्राका रामबहादुर गुरुङ(सुके)ले जानकारी दिए ।
शिविरमा उपचार टोलीका संयोजक लायन्स क्लव ३२५ बी १ का सिनियर एम्बेस्डर अफ गभर्नर अजित खड्का, चिकित्सकहरु शंकर श्रेष्ठ, निरोज क्षेत्री, मनोज हमाल र स्वयंसेवक लियो क्लव अफ काठमाडौं ओमका भाइस प्रेसिडेन्ट दर्शन खड्कालगायत सहभागी थिए ।
दन्तरोगका चिकित्सकको टोलीले एकसय जना भन्दा धेरै दन्तरोगका बिरामीको दाँत उखेलेका आयोजक संस्थाका रामबहादुर गुरुङले जानकारी दिए । ‘दाँत दुख्ने समस्या धेरै भेटियो । साँझ बिहान नियमित नमाझेका कारण अधिकांश गाउँलेको दाँत राम्रो अबस्थामा थिएनन्’, चिकित्सकको भनाइ उद्धृत गर्दै गुरुङले भने, ‘त्यसैले नियमित दाँत माझ्नका लागि छ सयवटा बुरुस र छ सयवटा मञ्जन पनि वितरण गरियो ।’ सिङ्लामा करिब दुईसय घरधुरीका करिब १३ सय जनाको बसोबास रहेको छ ।
लायन्स तथा लियो क्लवबाट आएका टोलीले स्थानीयबासीको आँखाको समस्याको बारेमा पनि अध्ययन गरेका र आगामि दिनमा आँखाको रोगको शिविर पनि राख्न सकिने जनाएका छन् ।




