महिला अधिकारकर्मीको आवाजको खाँचो पर्यो
सात महिनाको गर्भ बोकेर एक बालिका बुबाको साथ लागेर प्रहरीमा जाहेरी दिन आइन् । १४ बर्षकी ती बालिकालाई गोरखा नगरपालिका ८ का ५९ बर्षका तुलबहादुर थापाले गत बैशाख ११ गते जबर्जस्ती करणी गरेका थिए । बिभिन्न प्रलोभन देखाएर बलात्कार गरेपछि कसैलाई नभन्न उनले चेतावनी दिएका थिए ।
उनले मुखले त भनिन्, तर प्रकृतिले सार्वजनिक गर्यो अर्थात उनको नियमित महिनावारी रोकियो । गर्भवती महिलामा हुने लक्षणहरु देखिन थाल्यो । तैपनि उनले घटना लुकाइरहिन् ।
महिनावारी नभएको लामो समय बित्यो, बिस्तारै पेट बढ्न थालेपछि उनले लुकाएर घटना लुकेन । अन्ततः कात्तिक २४ गते बुबाको साथमा लागेर उनी जाहेरी दिन आइन् । जब उनी प्रहरी कार्यालय गएको सुइँको पाए, अभियुक्त फरार भए । मुद्धा दर्ता भयो, तर प्रतिवादी बेपत्ता छन् ।
ससाना बस्तु हराउन सक्छ, तर मान्छे कहाँ हराउँछ ? कि कसैले लुकाएर राख्छन्, कि विदेश पुग्छ । नत्र देशभित्र त प्रहरीले कुनै पनि उपाय अपनाएर फेला पार्छ भन्ने विश्वास हो । यदि फेला परेन भने ? यतिबेला महिला अधिकारकर्मीको आवाजको खाँचो छ ।
फेला पर्नु, नपर्नु प्रहरीसँग सम्बन्धित बिषय हो । बालिकासँग सम्बन्धित बिषय कम्ति जटिल छैन । के उनले सात महिनाको गर्भपतन गर्न सम्भव छ ? कि उनले बलात्कारबाट रहेको गर्भबाट बच्चा जन्माउन सहज छ ? यस्ता बिषयमा महिला अधिकारकर्मीको आवाजको खाँचो छ ।
जिल्ला बाहिरका बलात्कार तथा महिलामाथिको अन्यायका घटनामा आवाज बुलन्द पार्ने महिला अधिकारकर्मीको यतिबेला खाँचो परेको छ । ती बालिकाको शारीरिक, सामाजिक समस्या समाधानका लागि सही मार्गनिर्देशनको खाँचो छ । दोषी चाँडै पत्ता लगाई कारबाही गराउन दबाब सिर्जनाको खाँचो छ ।




