| सोमवार, कार्तिक २३, २०८३

गुम्दा र लाप्राकका रैथाने जातको आलु बचाऊ


गोरखामा स्थानीय जातको आलु सबैभन्दा धेरै खेती हुने भनेर नाम चलेको गुम्दा र लाप्राकको आलुमा अहिले रोग लाग्न थालेको छ । दादे र ऐजेरु रोगले यी दुई ठाउँका आलुलाई सताउन थालेको छ ।

केहीबर्षदेखि नै आलुमा रोग देखापर्न थालेपछि गाउँपालिकाले जिल्लास्थित कृषिज्ञानकेन्द्रमा आलुको नमूना परीक्षणका लागि पठाएको थियो । कृषि ज्ञानकेन्द्रले राष्टिूय बालीरोग विज्ञान अनुसन्धान केन्द्रमा सो आलुको नमूना परीक्षणका लागि पठाएको थियो ।

त्यहाँबाट हालै प्राप्त अध्ययन प्रतिवेदन अनुसार गुम्दा र लाप्राकको चार ठाउँमा गरिएको खेतीमा ऐजेरु र दादे रोगको संक्रमण भेटिएको छ ।

सोही प्रतिवेदनमा अनुसन्धान केन्द्रले सो रोगबाट बच्ने उपायहरु पनि सुझाएको छ । जस्तो कि, रोगी आलु नरोप्ने, रोगरहितका आलुका बिउ मात्र रोप्ने, रोगग्रस्त क्षेत्रमा आलु नलगाई अन्य बाली लगाउने, आलु बढ्ने बेलामा माटोमा पर्याप्त चिस्यान कायम राख्ने, माटोको अम्लीयपन हटाउन कृषि चुन प्रयोग गर्ने र माटोको पिएच ६.५ सम्म बढाउने आदि ।

त्यस्तै ऐजेरु रोग कम लाग्ने एनपिआई १०६, कार्डिनल, कुफ्रिज्योति, जनकदेव, खुमल सेतो १, खुमल रातो २ जातको बिउ प्रयोग गर्ने, रोगी बिउलाई बारीमा त्यत्तिकै नछाड्ने, गाढ्ने वा जलाएर नष्ट गर्ने र पशुलाई नखुवाउने, ऐजेरु रोगको प्रकोप भएको ठाउँलाई आन्तरिक क्वारेण्टाइन चेकपोष्ट खडा गरी यस्ता ठाउँबाट अन्यत्र बिउ नलैजाने गर्नुपर्छ इत्यादि ।

यस्ता कामका लागि गाउँपालिकाको कृषि शाखाले चासो लिएर त्यहाँको स्थानीय जातको आलु बचाउन लागि पर्नुपर्छ । अहिले कृषि ज्ञानकेन्द्रमा रैथाने जातको संरक्षण गर्ने कार्यक्रम पनि छ । त्यस कार्यक्रमले पनि सो ठाउँको रैथाने आलु बचाउन विभिन्न कार्यक्रम गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्