| सोमवार, कार्तिक २३, २०८३

चर्चा चल्दै ढल्दै योजना आयोजनाहरु

देशमा धेरै महत्वाकांक्षी योजना, आयोजनाको चर्चा चल्छन् र त्यसरी नै ढल्छन्, जसरी च्याङ्लीमा कृषि क्याम्पस सञ्चालनको चर्चा चल्यो, ढल्यो ।

चर्चा चल्दादेखि नै ‘हाम्रो महान पार्टीका होनहार विकासप्रेमी, युवाका मुटुका ढुकढुकी फलाना नेताज्यूको अग्रसरतामा सुरु भएको’ भनेर प्रोपोगण्डा सुरु हुन्छ । अनि राम्रै योजना, आयोजना भएपनि अर्को पार्टीका नेता, कार्यकर्ता यस्ता प्रोपोगण्डा देखेर डाहले जल्छन् । जन्मदै खोट लिएर जन्मने यस्ता योजनाहरु तुहिँदासम्म ती प्रोपोगण्डा गर्नेहरु सेलाइसकेका हुन्छन् ।

राष्ट्रले सुरु गरेको योजना भए पो जुन सरकार भए पनि निरन्तरता पाउँछ, सम्पन्न हुन्छ, सफल पनि हुन्छ । ‘हाम्रो पार्टीका होनाहार नेताको अग्रसरतामा सुरु भएको’ हुनाले अर्का पार्टीको सरकार आउनेवित्तिकै त्यस्ता योजनालाई रविस विनतिर मिल्काउने परम्परा बसेको छ । यही क्रम, उपक्रम चलिरहेकाले देश विकासले गति लिन सकेको छैन ।

दशकौंदेखि नेपालले बेहोर्नुपरेको बिडम्बना हो यो ।
योजना, आयोजना सुरु गर्नेले पनि आफूले सम्पन्न गर्नुपर्दैन भन्ठान्छ र जनतालाई धेरै महत्वाकांक्षा बाँड्छ, सपनाको संसारमा पुर्‍याउँछ, जस्तो बूढीगण्डकी आयोजना । अनि आयोजनाको यात्रा सुरु हुन्छ, संखेकिराको गतिमा ।

बजेट प्रसस्तै बिनियोजन गर्छ, त्यही आयोजनामा आफ्ना कार्यकर्ता, मतदाता भर्ती गर्छ । नातापाता, आफन्त सबैलाई जागिर खुवाउँछ । आफ्नालाई ठेक्का वा कोटेशनमा काम बाँड्छ । बजेट ध्वस्त बनाउँछ ।
गोरखामा यस्ता केही योजना छन् । जुन कतिपय सुरु भएर अलपत्र छन् । कतिपयको नाम मात्र बाँकी छन् ।
बूढीगण्डकी आयोजना, कुन्दुरटार सिँचाइ आयोजना, पालुङ्टार एयरपोर्ट, छेकम्पार सडक, पालुङ्टार औद्योगिक क्षेत्र, रुइला सडक, पालुङ्टार कृषि क्याम्पस आदि ।
अब हल्ला कम गर्ने, काम धेरै गर्ने बानी गरौँ ।

प्रतिक्रिया दिनुहोस्