| सोमवार, कार्तिक २३, २०८३

माछापोखरीमा बिष हाल्नेलाई कारबाही गर


गण्डकी गाउँपालिका ५ दर्बुङका राजेन्द्र श्रेष्ठको माछापोखरीमा अज्ञात व्यक्तिले विष हालिदियो । फलस्वरुप पोखरीमा रहेका छसय माछा सखाप भए ।
राजेन्द्र श्रेष्ठ कोरोना संक्रमणका कारण होम आइसोलेशनमा रहेको मौका पारी दुष्टआत्माले माछापोखरीमा दुष्ट्याइँ गर्‍यो । अहिले श्रेष्ठलाई दुइटा विपत संगसंगै परेको छ । एउटा कोरोना विपत, अर्को माछा सखाप विपत ।
विपतमा परेकालाई सकेको सहयोग गर्नु मानवता हो । दुखमा परेकालाई झन दुख दिनु दानवता हो । त्यस्ता दानवता भएकालाई पहिचान गरी कारबाहीको दायरामा ल्याउनु पर्छ ।
दण्डहिनताका कारण अपराध मौलाइरहेको कसैको नजरमा छिपेको छैन । स्वतन्त्रताले स्वच्छन्दता मौलाएको छ । सुन्य सहनशीलताको नारा केवल नारामा मात्र सीमित छ । जसले गर्दा उद्दण्डताले सबैको टाउकोमा टेकेको छ ।
माछापोखरीमा बिष हाल्नुको अर्थ के हो ? कुनै अनभिज्ञता हो ? कुनै अञ्जानले त्यस्तो भएको हो ? अज्ञानताबश त्यस्तो हुन्छ ?
गरिखानेलाई दुख दिने नियत राख्नु हुदैन, त्यसमाथि पनि सहयोग गर्नुपर्ने बेला दुख दिइएको छ । त्यो बेठिक भएको छ ।
गाउँमा छानबिन गर्न, अनुसन्धान गर्न पनि समस्या हुदैन । त्यसैले प्रहरीले अबका दिनमा त्यस्ता नजिर बस्न नदिन, अपराध कर्मलाई प्रश्रय नदिन र गल्ती गरे कारबाहीको भागेदार भइने रहेछ भन्ने सबक सिकाउन दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु पर्छ ।
अहिले अपराधीलाई राजनीतिक संरक्षण दिने परम्परा पनि व्याप्त छ । अपराधी सबै पार्टीभित्र छन् । तिनले अपराध गरे भने सम्बन्धित पार्टीले दिलोज्यान दिएर ढाकछोप री बचाउन तिर लाग्ने परम्परा छ । यो गलत छ । दोषीलाई कारबाही हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्