
तनहुँमा एकैदिन २५ जना पक्राउ
तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का सुरेन्द्रकुमार श्रेष्ठको विवाह भएलगत्तै भागम्भाग सुरु भयो । भानु सम्जुरका २६ वर्षीय सुरेन्द्रकुमारले सहमतिमै भए पनि नाबालिका विवाह गर्दा उनीविरुद्ध मुद्दा पर्यो ।
तनहुँ जिल्ला अदालतले १७ फागुन २०७३ मा सुरेन्द्रलाई दोषी ठहर गर्दै १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनायो । सुरेन्द्रले न कैद सजाय भुक्तान गरे, न जरिवाना तिरे । उनी फरार भए । फरार भएको ४ वर्षपछि जिल्ला प्रहरी कार्यालय तनहुँले कैद तथा जरिवाना भुक्तानका लागि आइतबार उनलाई पक्राउ गरेको छ ।
तनहुँ बन्दिपुर गाउँपालिका वडा नम्बर १ भन्सार बस्ने बर्लमिन भन्ने बहरुल अमिन मियाविरुद्ध लागु औषध कारोबारको मुद्दा पर्यो । जिल्ला अदालत तनहुँले १४ चैत २०७६ मा मियालाई दोषी करार गर्दै १ वर्ष २ महिना कैद र ५२ हजार रुपैयाँ जरिवाना तोक्यो ।
अदालतको फैसलाअनुसार सजाय र जरिवाना भुक्तान नगरी मिया फरार भए । विभिन्न ठाउँमा लुकिछिपी बसिरहेको अवस्थामा आइतबार तनहुँ प्रहरीको नजरमा परे । बाँकी कैद सजाय तथा वरिवाना भुक्तानका लागि मिया पनि पक्राउ परेका छन् ।
यी त २ उदाहरणमात्रै हुन् पछिल्लो समय तनहुँ प्रहरीले अदालतको फैसलाको अपहेलना गर्ने फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गरिरहेको छ । अदालतले दोषी ठहर गरेका फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान नै चलाएको तनहुँ प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए । तनहुँ प्रहरीले आइतबारमात्र विभिन्न समयमा अदालतबाट दोषी ठहर भएर फरार रहेका २५ जना अभियुक्तलाई पक्राउ गरेको पौडेलले जानकारी दिए ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियान नै चलाएको तनहुँ प्रहरीले हप्ता दिन अघिमात्र एकैदिन ३५ जनालाई पक्राउ गरेको थियो ।




